Logo

इखा पोखरी पुन:निर्माण कार्यको शिलान्यास, २०८२ माघ मसान्तभित्र परियोजना अवधि



काठमाडौँ । इखा पोखरी पुनःनिर्माणका लागि आज शिलान्यास भएको छ । महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, प्रवक्ता नविन मानन्धर र सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले पुनःनिर्माण कार्यको शिलान्यास गरेकी हुन् ।

महानगरपालिकाले २०३६ सालमा तयार पारेको अभिलेखमा, इखा पुखु ज्यादै फोहर अवस्थामा रहेको उल्लेख गरिएको छ । त्यसमा भनिएको छ, ‘चारैतिर पर्खाल बनाइ फोहर पानी निकासको प्रबन्धद्वारा बाहिर पठाइ पुनः सफा गरी भरिदिएमा पोखरीको महत्व एवं सौन्दर्य निकै बढ्ने देखिन्छ ।’ यसबाट बुझ्न सकिन्छ, त्यसबेला पोखरीमा पानी थियो तर फोहर थियो । अभिलेखअनुसार पोखरीको लम्बाइ २१० फिट र चौडाइ ९२ फिट हो । यसको निर्माण १६ औँ शताव्दीमा भएको हो ।

इखा पोखरीको पानीले धुँदा आँखामा भएको रोग निको हुन्छ भन्ने जनविश्वाश छ । प्रयोगबाट विकास भएको यो जनविश्वासलाई सुक्ष्म रुपमा हेर्ने हो भने पानीमा पाइने तत्व, यसको वातावरणीय सम्बन्ध प्राकृतिक भएको मान्न सकिन्छ । इखा पोखरी र बाङ्गेमुढामा भएको इखानारायणको मन्दिर अन्तरसम्बन्धित रहेको मानिन्छ । पोखरीको बिचमा नारायणको मूर्ति रहेको जनकथन मान्ने हो भने यसको आकार वृहत भएको बुझ्न कठिन छैन । पछिल्लो समयमा पानी सुकेर मैदान जस्तो मात्रै अवस्थामा रहेको इखा पोखरीलाई काठमाडौँ महानगरपालिकाले पुनःनिर्माणको काम प्रारम्भ गरेको हो ।

पुनः निर्माणको लागत ३ करोड ६४ लाख रुपैयाँ हो । पोखरीको क्षेत्रफल करिब साढे ७ रोपनी छ । यसभित्रको करिब ६ रोपनी क्षेत्रफलमा पानीको भाग हुनेछ । पानीको भागभन्दा बाहिर वरिपरि २ मिटरको पैदल मार्ग हुनेछ । पुनःनिर्माण गर्दा आकाशे पानी जम्मा हुने प्रणाली बनाइनेछ । सार्वजनिक खरिद प्रक्रियाबाट छनोटद भएको निर्माण पक्ष माघ ११ गते निर्माण पक्षसँग सम्झौता गरिएको हो ।

शिलान्यासपछिको संक्षिप्त प्रतिक्रियामा उपप्रमुख डंगोलले, जल प्रणाली (व्लु ल्याण्डस्केप) को पुनःस्थापनालाई प्राथमिकतामा राखिएको बताइन् । यसैगरी प्रवक्ता नविन मानन्धरले पोखरी पुनःनिर्माण भइसकेपछि यससँग छुटेका सांस्कृतिक तथा सामाजिक चालचलनलाई जोड्दै लैजाने बताए । त्यस क्रममा सम्पदा तथा पर्यटन समितिका संयोजक संगतले, जल सम्पदासँग अमूर्त सम्पदाहरुको निकट सम्बन्ध रहेकोले पोखरीसँग सम्बन्धित अमूर्त सम्पदा अभिलेखन गरिने बताए ।

इखा पोखरी परिसर विकास कार्यक्रमअन्तर्गत काम थालिएको हो । सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईका अनुसार पोखरी पुनःस्थापनापछि सौन्दर्य अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन हुनेछ ।

उपत्यकाका पोखरी बनाउँदा बसोबास र पेशालाई आधार मानेर बस्तीको सिरानमा, मध्य भागमा र पुछार गरी ३ किसिमका पोखरी बनाइएको पाइन्छ । वर्षातमा पानीको भेल बस्तीमा नजाओस्, आवश्यक परेका बेला सिँचाइ गर्न सकियोस् भन्नका लागि पोखरी खनिन्थे । वस्तीमा बनाइएका पोखरीहरुमा पानी जम्मा गरेर जमिन पुनःभरण गर्ने, पशुपालनजस्ता कामका लागि बनाइएका पाइन्छन् ।

यस्ता पोखरीहरु जीवनशैलीसँग प्रत्यक्ष जोडिएका हुन्छन् । पोखरीमा देवकर्म तथा पितृकर्मसँग सम्बन्धित धार्मिक, सामाजिक तथा सांस्कृतिक क्रियाकलाप गर्ने गरेको पाइन्छ ।

सहरीकरणले क्षय भएको नदी, पोखरी, तलाउ, धारालगायत पानीजन्य प्रणालीलाई थप नासिन नदिने, क्षय हुन नदिन महानगरपालिकाले गौरव योजनाअन्तर्गत ‘सबैको चाहना, ढुङ्गेधारा, हिटी र पोखरीको पुनःस्थापना’ कार्यक्रम र गौरव योजनाअन्तर्गत ‘ढुङ्गेधारा, हिटी र पोखरी संरक्षण’ कार्यक्रम सञ्चालन गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्