काठमाडौं, १४ माघ । काठमाडौं महानगरपालिकाले व्यवसाय गर्न नदिएको र धरपकड गरेको भन्दै कवाड व्यवसायी समाज, नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । आज (सोमबार) कांग्रेस सर्लाही जिल्लाका कार्यवाहक सभापती डा.सरोज कुमारको नेतृत्वमा कवडा व्यवसायीहरुले देउवालाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकार्षण गराएका हुन् ।
कवाड व्यवसायी समाजका अध्यक्ष रामकेवल गुप्ता, ओम प्रकाश सिंह, सुरेश साह, विजय गुप्ता कृष्ण यादवसहितका व्यवसायीहरु आज विहान देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । महानगरले कवाड व्यवसाय गरिरहेको स्थानमा तोडफोड गरेको, समान जफत गरेको, व्यवसायीलाई कुटपीट, गालीगलौज र अभद्र व्यवहार गरेको भन्दै उनीहरुले देउवाको ध्यानाकार्षण गराए ।
उनीहरुले कवाड व्यवसायीमाथी भईरहेका अराजक गतिविधि रोक लगाउन माग गरेका छन् । उनीहरुले जिउ, धनको सुरक्षाको मागसमेत गरेका छन् ।