काठमाडौं । आज भएको दोस्रो सेमिफाइनल खेलमा त्रिभवन विश्वविद्यालयलाई ७७ रनले पराजित गर्दै मध्यपश्चिम विश्वविद्यालय फाइनलमा पुगेसँगै राजधानीमा जारी जय नेपाल कपको उपाधिका लागि लखनउ र मध्यपश्चिम विश्वविद्यालय भिड्ने तय भएको छ ।
मध्यपश्चिमले आज त्रिविलाई ७७ रनले पाखा लगायो । मध्यपश्चिमले दिएको १९२ रनको लक्ष्य पछ्याएको त्रिवि १४४ रनमै अलआउट भयो । त्रिविका लागि ओपनर लोकेश बमले सर्वाधिक ४४ रन बनाए । यस्तै, सुरेन्द्रप्रसाद पन्तले १८, सेमोन रोयले १६ भीम सार्कीले १५ र आइस भट्टराईले १० रन थपे ।
मध्यपश्चिमका विपिन खत्री, दिवान पुन र सुवास भण्डारीले समान दुई विकेट लिए । राजकुमार साह र विनित खत्रीको नाममा एक–एक विकेट रह्यो ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको मध्यपश्चिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १९१ रनको योगफल खडा गरेको थियो ।
मध्यपश्चिमका ओपनर रवीन्द्रजंग जोशीले सर्वाधिक ६९ रन बनाए । उनले ५० बलमा एक चौका र ६ छक्का प्रहार गरे । यस्तै, दीपकप्रसाद डुम्रेले ३२ बलमा पाँच चौका र पाँच छक्कासहित ६३ रन थपे ।
देवान पुनले १२ बलमा चार चौकासहित २३ रन जोडे । फाइनल खेल भोलि हुनेछ । भोलि नै तेस्रो स्थानका लागि ढाका र त्रिवि भिड्नेछन् ।