Logo

प्रचण्डले सरकार बनेको पहिलो दिनदेखि नै हिलो छ्याप्ने र भ्रम सिर्जना गर्ने काम गरिराख्नु भएको छः महेश बर्तौला



काठमाडौं, १४ माघ । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार बनेको पहिलो दिनदेखि नै हिलो छ्याप्ने र भ्रम सिर्जना गर्ने काम गरिरहेको बताएका छन् । प्रचण्डले अराजकताको खेतिपाती गरिरहेको नेता बर्तौलाको आरोप छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार कमजोर धरातलमा नरहेको उनले बताए । ‘एमाले वा कांग्रेस मिलेर बनेको सरकारलाई उहाँले डे फस्टदेखि नै हिलो छ्याप्ने, भ्रम सिर्जना गर्नेगरी अभिव्यक्तिहरु दिने काम गरेपछि यसको औषधि छैन । अराजकता चाहनेहरुले यस्तै कुराको खेतिपाती गर्नुहुन्छ । ल कल्पना गरौं यो सरकार ढल्यो, उहाँले ढाल्ने, उहाँले कुन सरकार बनाउनुहुन्छ ? एमाले वा कांग्रेस सम्मिलित नभइ यो सरकार बन्दैन,’– उनले भने ।

राजनीतिको आगामी यात्रामा कहिले पनि भेट नहुनेजस्तो गरी प्रचण्डले अभिव्यक्ति दिइरहेको उनले बताए । नेता बर्तौलाले एमाले र कांग्रेसको काँधमा चढेर प्रचण्डले १८ महिना सरकारको नेतृत्व गरेको बताए ।



प्रतिक्रिया दिनुहोस्