काठमाडौं, १४ माघ । नेपाली कांग्रेस संसदीय दलको बैठक सम्पन्न भएको छ । आज (सोमबार) बसेको बैठकमा केही सांसदहरुले आफ्नो धारणा राखेका थिए । कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार सांसदहरुले आजको बैठकमा आगामी १८ गतेदेखि बोलाइएको संसद् अधिवेशन, सरकारले भर्खरै अध्यादेशबाट कानुन संशोधन गरेको विषय र समसामयिक विषयमा धारणा राखेका थिए ।
‘१८ गतेदेखि संसद् सुरु हुँदैछ, त्यो विषयलाई लिएर र अध्यादेश, अन्य समसामयिक विषय, बजेटदेखि लिएर विविध विषयहरुमा आज सांसदहरुले प्रश्न उठाउनु भएको छ । अत्यन्तै गम्भीरतापूर्वक, सौहार्दपूर्ण वातावरणमा छलफल भएको छ । महत्वपूर्ण विचारहरु माननीय सदस्यहरुबाट आएको छ,’– नेता घिमिरेले भने ।
साथै, सरकार परिवर्तनको सम्बन्धमा बैठकमा कुनै प्रसंग नै नउठेको नेता घिमिरेको दाबी छ । कांग्रेस–एमालेसहितको वर्तमान सरकार सात बुँदे सहमतिको दायरामा रहेर अगाडि बढ्ने उनले विश्वास व्यक्त गरे । कांग्रेस संसदीय दलको अर्को बैठक आगामी शुक्रबार विहान फेरि बस्ने बताइएको छ ।
‘सरकार परिवर्तनको कुरै नगरौं । सरकार परिवर्तनको कुरा कसैले गरेको पनि छैन । सरकार परिवर्तन हुने सम्भावना पनि छैन । अहिलेको वर्तमान कोलिसन संसद्को बाँकी अवधि पूरै चल्नेवाला छ । जे सात बुँदे सम्झौता भएको छ, त्यही सम्झौता बमोजिम यो सरकार चल्छ,’– उनले भने ।
कांग्रेस सांसद् रामहरि खतिवडाले पनि अध्यादेशबारे सांसदहरुले असन्तुष्टि व्यक्त गरेको बताए । सांसदहरुले अध्यादेश मान्य नरहेको धारणा राखेको उनले बताए । ‘अध्यादेशको बारेमा केही साथीहरुले अहिले पनि हाम्रो सहमति छैन । किन यो अध्यादेश आउनु अगाडि सांसदहरुसँग छलफल गरिएन ? सांसदहरु पनि सार्वभौमसत्ता सम्पन्न हुन्, निर्वाचित भएर आएका हुन् । एकैचोटी आएपछि थाहा हुन्छ, यो कुरा ठीक भएन भनेर सांसदहरुले राख्नुभयो,’– खतिवडाले भने ।