Logo

सहकारी पीडितहरुको पैसा राज्यकोषबाट दिन सकिँदैनः कांग्रेस नेता घिमिरे



काठमाडौं, १४ माघ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले सहकारी पीडितको पैसा राज्यकोषबाट परिपुरण गर्न नसकिने बताएका छन् । आज (सोमबार) संसदीय दलको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सहकारीको पैसा जसले खाएको वा मासेको हो उसैले तिर्नुपर्ने बताए । पीडितहरुको रकम फिर्ता गर्न राज्यकोषमा सम्पत्ति पनि नरहेको उनको भनाइ छ ।

‘सहकारीमा पीडित भएका व्यक्तिहरुको, सहकारीमा पैसा डुबेका व्यक्तिहरुको पैसा राज्यले परिपुरण गर्न गाह्रो छ । राज्यकोषमा हामीसँग त्यति सम्पत्ति पनि छैन । त्यो गर्नलाई अहिले राज्यकोष सक्षम पनि छैन । तर, हामीले चाहीँ के भने जसले खायो, जसले मास्यो, जसले अपचलन गर्यो, उसैबाट भराएर लिने भन्ने कुरा हो,’– उनले भने ।

सहकारी समस्या समाधान गर्न सहज हुनेगरी अध्यादेश आएको पनि उनले बताए । नेता घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोध नसाँधेको दाबी गरे । लामिछानेको मुद्दामा अदालतले कानुन बमोजिम नै धरौटीमा छाड्ने काम गरिरहेको उनले बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्