Logo

देउवालाई कांग्रेस सांसदहरुको चेतावनीः अध्यादेशमा हाम्रो सहमति छैन



काठमाडौं, १४ माघ । नेपाली कांग्रेसभित्र सरकारले अध्यादेशमार्फत ऐन संशोधन गरेको विषय पेचिलो बन्दै गएको छ । आज (सोमबार) बसेको कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले छलफल नै नगरी अध्यादेश ल्याइएको भनी आक्रोश व्यक्त गरेका थिए । कांग्रेस नेता एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाका अनुसार आज २० जना सांसदहरुले आफ्नो धारणा राखेका थिए । सो क्रममा उनीहरुले अध्यादेश ल्याउन कुनै छलफल नगरिएको र अध्यादेश आएपछिमात्रै थाहा भएको भन्दै आक्रोश व्यक्त गरेका थिए । आफूहरुलाई थाहा, जानकारी नै नदिइ ल्याइएको अध्यादे मान्य नहुने पनि उनीहरुको चेतावनी थियो ।

‘अध्यादेशको बारेमा केही साथीहरुले अहिले पनि हाम्रो सहमति छैन । किन यो अध्यादेश आउनु अगाडि सांसदहरुसँग छलफल गरिएन रु सांसदहरु पनि सार्वभौमसत्ता सम्पन्न हुन्, निर्वाचित भएर आएका हुन् । एकैचोटी आएपछि थाहा हुन्छ, यो कुरा ठीक भएन भनेर सांसदहरुले राख्नुभयो,’– सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता खतिवडाले भने ।

आजको बैठकमा कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन नभ्याएको पनि सांसद खतिवडाले बताए । सांसद खतिवडाका अनुसार आगामी माघ १८ गते विहान पुनः संसदीय दलको बैठक बस्ने छ । सोही दिन संघीय संसद्को हिउँदे अधिवेशन आह्वान गरिएको छ ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले सांसदहरुसँग समन्वय गरेर काम गर्न पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई निर्देशन दिए । ‘सभापतिज्यूले अन्तिममा मन्त्रीज्यूहरुको काम अलिकति अप्ठ्यारो त होला । तरपनि सांसदहरुसँग समन्वय गरेर काम गर्न निर्देशन दिनुभयो,’– खतिवडाले भने ।

साथै, सात बुँदे सहमतिअनुसार सरकार पूरै अवधिसम्म जाने कुरामा कांग्रेसभित्र विवाद नरहेको उनले बताए । तर, गल्ती भएको कुरामा पनि गल्तीबारे खुलेर कुरा राख्न सभापति देउवाले निर्देशन दिएको खतिवडाको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्