Logo

प्रधानमन्त्रीको सरकारी निवासमा सत्तारुढ दलको बैठक



काठमाडौं, १३ माघ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धन दलको बैठक बसेको छ । । आगमी माघ १८ गतेबाट सुरु हुने संघीय संसद्को हिउँदे अधिवेशन र पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमको बारेमा छलफल गर्न बैठक बसेको बताइएको छ ।

प्रधानमन्त्री ओलीले बैठकबारे जानकारी गराउँदै भनेका छन्, ‘माघ १८ गतेदेखि संघीय संसदको हिउँदे अधिवेशन सुरू हुँदै छ। विधेयक अधिवेशनका रूपमा लिइने हिउँदे अधिवेशनबाट हामीले धेरै कानुन निर्माण गर्नु पर्ने छ । अधिवेशनको तयारीबारे सरकार पक्षीय दलहरुको बैठक आज बसेको छ।’

बैठकमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउत, जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादव तथा संसदीय दलका प्रमुख सचेतसमेत सहभागी छन् ।

प्रधानमन्त्री ओलीले जनसेवा र विकास निर्माणका कामलाई गति दिन अत्यावश्यक अध्यादेशलाई संसद्को पहिलो दिनमै पेस र छिट्टै प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुपर्ने बताएका थिए । उनले संसद्लाई पर्याप्त बिजनेस दिएर कानुन निर्माणका कामलाई तीव्रता दिन राजनीतिक दल र सांसद्हरूको प्रभावकारी भूमिका आवश्यक पर्ने बताए । यही माघ १८ गतेदेखि संसद्को अधिवेशन प्रारम्भ हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्