काठमाडौं, १४ माघ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको समग्र विकासमा सबैको भूमिका महत्त्वपूर्ण हुने भएकाले आफ्नो स्थानबाट योगदान गर्न आवश्यक रहेको बताएकी छन् ।
विराटनगरमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले विज्ञान प्रविधिको विकास, महिला, बालबालिकाक्षेत्रको पछौटेपन हटाउन एवं खानेपानी समस्या समाधानमा सबैले आफ्नो क्षेत्रबाट काम गर्न सकेमा मुलुकले समृद्धि हासिल गर्ने बताईन् ।
राजनीतिमा चासो राख्नेले छलफलको विषय बनाएपनि दलीय जिम्मेवारी लिने चरणमा आफू पुगी नसकेको उनले प्रष्ट पारिन् । उनले राष्ट्रपति प्रणाली र राष्ट्रपति पद गैरराजनीतिक जिम्मेवारी नभएको उल्लेख गरिन् ।
पूर्वराष्ट्रपति भण्डारीले आफू सचेत, सङ्गठित भएर हिँडेदेखि राष्ट्रिय राजनीतिमा चासो राखेको बताईन् । ‘हरेकले राष्ट्रिय राजनीति बुझ्न आवश्यक छ, राजनीतिबाट कोही अछूत छैन र राजनीतिमा गहिरो चासो छ,’– उनले भनिन् । File Photo/RN