काठमाडौं, १४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यादेशबाट शासन गर्ने सरकारको नियत खोटपूर्ण रहेको निष्कर्ष निकालेको छ । आज (सोमबार) बसेको रास्वपाको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको हो । रास्वपाले संघीय संसदको आगामी अधिवेशनमा गुण र दोषको आधारमा अध्यादेशको समर्थन र विरोध गर्ने निर्णय गरेको छ ।
‘संसदमा दुई तिहाई बहुमत भएको सरकारको अक्षमता र निरीहता स्पष्टसँग प्रदर्शित हुँदा सम्पूर्ण व्यवस्थामाथि नै प्रश्न चिन्ह खडा हुने अवस्था निम्तनुमा वर्तमान गठबन्धनका दुई प्रमुख साझेदार दलहरुले नैतिक जिम्मेवारी लिन पर्ने निष्कर्ष रास्वपाको छ । विगत ६ महिनामा गठबन्धन निर्माणको घोषित उद्देश्य अनुरुप कुनै पनि नतिजा नदेखिएको पृष्ठभूमिमा संसदको आसन्न अधिवेशनको ३ हप्ताअघि हतारहतार हतास मनस्थितिमा काम देखाउन सरकारले पाँचवटा अध्यादेश ल्याएको प्रक्रिया र नियत खोटपूर्ण रहेको ठहर गर्दै, ति अध्यादेशका अन्तर्वस्तुगत सारमाथि रास्वपाका सांसदहरुले गुण÷दोषका आधारमा खरो बहस गर्ने निर्णय भएको छ,’– कार्यवाहक प्रवक्ता प्रतिभा रावलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बैठकले विभिन्न छ बुँदे निर्णय गरेको छ । बैठकले पार्टीका विषयगत विभाग सञ्चालन नियमावली २०८१ को संशोधन प्रस्ताव, संगठन विभाग नियमावली २०८१ र निर्वाचन आयोगको नियमावली २०८१ पारित गरेको छ ।