काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो विरुद्धमा नेपाल पत्रकार महासंघले भ्रम फैलाएको भन्दै आपत्ति जनाएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले आफू माथिको आरोप पुष्टि गर्न चुनौतीसमेत दिएका छन् ।
‘प्रेस स्वतन्त्रताको नाममा जसले जस्लाई पनि जथाभावी आरोप लगाउन मिल्दैन । आरोप पुष्टी गरेर समाजमा ल्याउन सकिन्न भने कसैको चरित्र हत्या गर्ने नियतले राजनीतिक पक्षधरता लिएर कसैले पनि जिब्रो, कलम या क्यामेरा चलाउनु हुँदैन । पत्रकारले समाजलाई विभत्त गर्ने बिग्रह र कहल ल्याई आतंक सृजना गर्न मिल्दैन । पत्रकार कुनै दलको बन्नु हुँदैन’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘स्वतन्त्र र निष्पक्ष पत्रकारले मात्रै सत्य र तथ्यलाई आधार मानी देश र जनताको भावना, चाहना र आवश्यकता अनुसार काम गर्न सक्दछ । सत्य तथ्यलाई बाहिर ल्याउनु पत्रकारको परम कर्तव्य हो तर भ्रम सृजना गरेर अपुष्ट बिना प्रमाणका सामाग्री सम्प्रेषण र प्रसारण गर्दा देश र जनतालाई आघात पुग्ने र लोकतन्त्रको नाममा दलतन्त्र हावी हुने देखिन्छ’ ।
पत्रकारलाई धम्की दिएको भन्ने कुरा महासंघले अनर्गल प्रचार गरेको उनको दाबी छ ।‘पत्रकार महासंघलाई मेरो चुनौती छ । कहाँ, कति बजे, मिडियामा के कसरी धम्की दिएको हो मैले सो प्रमाणित गरिदिन चुनौती दिन्छु । देशको माया बोकेर जनताको सेवा र सुविधाका लागि आफुलाई समर्पित गर्ने, खोलाखोल्सी, डाँडा काँडा, झोर जंगल, भीरपाखा, घामपानी, जाडो चिसो नभनी एउटा निर्जीव औजार सरि देश र जनताका लागि घोटिने एउटा देश भक्त जनप्रतिनिधिलाई निरंकुश बनेको आरोप लगाउन अघि लोकतन्त्रको अर्थ र परिभाषा बुझ्दा राम्रो हुनेथ्यो’ उनले भनेका छन् ।
उनले दलीय आडमा लागेर आफ्नो विरुद्धमा भ्रम नफैलाउन चेतावनी दिएका छन् । ‘पार्टीको आडमा संगठनको भरमा कुनै व्यक्ति या संस्थालाई बिना प्रमाणको आरोप लगाई हिलो छ्याप्नुलाई लोकतन्त्र भनिन्छ भने नेपाली जनताले वास्तविक लोकतन्त्रको लागि फेरि पनि आवाज उठाउनु पर्ने देखिन्छ’ उनले भनेका छन् ।