काठमाडौं, १५ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधनको विषयभित्र देश दुर्घटनातिर जाने खतरा लुकेको बताएका छन् । आज (मंगलबार) काठमाडौंमा आयोजित ‘राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार’ विषयक विचार सभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकारले मजदुर, किसान, उत्पीडित वर्ग, समुदायको हक, अधिकार खोस्नेगरी संविधान संशोधन गर्न खोजेको उनले बताए । सरकारको त्यस्तो कदम आफूहरुलाई स्वीकार्य नहुने प्रचण्डले बताए ।
‘दुर्घटनाको खतरा त्यहीँ अन्तरनिहित छ । संविधान संशोधनको कुरा जे विषयमा भनिएको छ, दुर्घटनाको खतरा त्यसैभित्र छ । संविधान संशोधन यो देशका मजदुर, किसान, उत्पीडित वर्ग, समुदायको हक, अधिकार बढाउनका लागि होईन, त्यो खोस्न खोजिरहेका छन् । यो समजवादी मोर्चाले विकल्प दिनेगरी नजाने हो भने खतरा छ,’– उनले भने ।
साथै, प्रचण्डले वर्तमान सरकारले अध्यादेशमार्फत प्रतिगमनको पाइला सुरु गरेको बताए । उनले अध्यादेश अलोकतान्त्रिक र निरङ्कुश तरिकाबाट ल्याइएको दाबी गरे । ‘अध्यादेश पनि बडो अलोकतान्त्रिक र निरङ्कुश तरिकाले ल्याइएको छ । आफैंले भन्ने गरेको मान्यता विपरीत, सदनमा भएको विधेयक सदनबाट फिर्ता नलिइकन जबरजस्ती अध्यादेश ल्याउने जो काम भएको छ, यो स्वैच्छाचारी र निरङ्कुश छ । यो प्रतिगमनतिरको यात्राको पाइलाहरु नै हो भन्ने महशुस गरेर हामीले तुरुन्तै सदन बोलाइँदैन भने हामी विशेष अधिवेशन बोलाउन बाध्य छौं भनेपछि मात्रै सरकारले सदन बोलाएको छ,’– प्रचण्डले भने ।
वर्तमान सरकार आफैंमा अप्राकृतिक र अलोकतान्त्रिक रहेको दोहोर्याए । गएको छ महिनामा सरकारको क्रियाकलापबाट पनि यो अलोकतान्त्रिक र अप्राकृतिक रहेको पुष्टि हुने प्रचण्डको भनाइ छ । अब समाजवादी मोर्चा देशको राजनीतिक विकल्पको रुपमा आउनै पर्ने उनले बताए ।
‘यो सरकार आफैंमा अप्राकृतिक छ, अलोकतान्त्रिक छ । यो गलत उद्देश्यले बनेको छ, गएका छ महिनामा उसले गरेको क्रियाकलापले त्या देखाएको पनि छ । अब समाजवादी मोर्चा देशको राजनीतिक विकल्पको रुपमा आउनै पर्ने भएको छ । हामीले जुन रणनीतिक उद्देश्य, समाजवादी विकल्पकको कुरा गरेका छौं, हामीहरु जागरुक नहुने हो भने देश नराम्रो अवस्थातिर जान सक्छ,’– प्रचण्डले भने ।