काठमाडौं । पार्टी सभापति रवि लामिछानेले गृहमन्त्री हुँदा एकजना बलात्कारका आरोपीलाई उन्मुक्ति दिएको खुलासापछि सामाजिक सञ्जालमा भाइरल बनिरहेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य ज्वाला संग्रौलाले फेरि अर्को खुलासा गरेकी छन् ।
केही दिनअघि ज्वालाले बलात्कारको आरोप लागेका नेकपा एमालेका एक नेतालाई रवि गृहमन्त्री हुँदा उन्मुक्ति दिएको खुलासा गरेकी थिईन् । सो खुलासापछि उनको पार्टीभित्र आलोचना भइरहेको छ । आलोचना बढ्दै जाँदा पार्टीले स्प्रष्टीकरण सोध्नेसम्मको तयारी गरेको छ । पार्टीको कारबाहीमा पर्ने भएपछि फेरि उनले मंगलबार रास्वपा हुँ भन्नेहरू एउटा न एउटा काण्डमा मुछिएको खुलासा गरेकी छन् ।
‘जजसले आज मेरो बिरोध गरेर आफू रास्वपा हुँ भनिरहेका छ्न्, तिनीहरुको बिगत खोज्दै जाने हो भने एउटा न एउटा काण्डमा मुछिएकै छन्,’ आफ्नो आलोचना गर्नेलाई लक्षित गर्दै उनले फेसबुकमा लेखेकी छिन्, ‘मैले पर्दाफास गर्दै गए भने भोलि नाकमुख देखाउन गाह्रो होला महोदय। तसर्थ संयमित बन्नुस।’
उक्त अभिव्यक्ति ३ पटक सच्याएर स्पष्टीकरण दिँदा पनि आफूलाई रास्वपा कार्यकर्ताहरूले खेद्न नछोडेको तर आफू विचलित नभएको उनको भनाइ छ। ‘मेरो एउटा सामान्य लेखाइको त्रुटि, त्यो पनि मैले सच्याएर ३ वटा स्पष्टीकरणसहितका स्टाटस लेख्दा समेत मलाई खेद्न छोडेका छैनन्,’ संग्रौलाले लेखेकी छिन्, ‘यसबाट म कतै बिचलित भएकी छैन, किनकी यस्ता बाधाका पहाडमाथि टेक्दै जीवनको उकाली चढेको निकै साल भैइसक्यो।’
पार्टीमा अनियमितता गरेर निलम्बनमा परेका भूतपूर्व रास्वपाहरूले समेत आफ्नो आलोचना गरेको भन्दै उनले लेखेकी छिन्, ‘अरु त त्यस्तै हो पार्टीको चुनाबी अभियानका दौरान आर्थिक अपचलन गरेर निलम्बनमा परेका ‘भूतपूर्व’हरूले मेरो खेदो गरेको चाहिँ कत्ति पनि सुहाएन। मैले केही अपराध गरेको छैन, कसैको एक सुको खाएको छैन। पार्टीभित्र बसेर गुट र फुटको धन्दा गरेको छैन।’
रवि लामिछानेका कारण मात्रै पार्टीमा टिकिरहेको दाबी गर्ने ज्वालाले आवश्यक परे आफ्नो अभिव्यक्तिबारे पार्टीको अनुशासन समितिलाई समेत जवाफ दिन तयार भएको स्पष्ट पारेकी छिन्।
संग्रौलाको भनाइ छ, ‘मेरो अभिव्यक्तिको बिषयमा मलाई पार्टीको केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण सोधेमा म जुनसुकै ठाउँमा उभिएर पनि जवाफ दिन तयार छु।’