काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको दुई भातृ संगठनको अध्यक्षलाई जिम्मेवारी मुक्त गरेको छ । हालै पार्टी अध्यक्ष माधव कुमार नेपालले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानी) मा विद्यार्थी संगठन अनेरास्ववियूकी अध्यक्ष आरति लामा र युवा संघ अध्यक्ष कृष्ण विकलाई पदमुक्त गरेका छन् ।
पार्टीद्वारा जारी अन्तर पार्टी निर्देशन-४ मा उनीहरूको जिम्मेवारी खोसिएको उल्लेख छ । पार्टीको केन्द्रीय सदस्य तथा भौगोलिक जिम्मेवारीसामेत पाएको कारण उनीहरू जिम्मेवारीमुक्त भएका हुन् । जिम्मेवारी खोसिएकी लामा सर्लाहीको सहइन्चार्ज र विक म्याग्दीको इन्चार्ज बनेका छन् । पार्टीमा सम्मानीत नेता झलनाथ खनालनिकट मानिने उनीहरु गत १०औं राष्ट्रिय महाधिवेशनमा महासचिव घनश्याम भुसाललाई अध्यक्ष बनाउनुपर्छ भन्ने लाइनमा थिए ।
युवा संघको अध्यक्षमा विश्वकर्मा छनौट भएपछि अर्का नेता नितेश पौडेलले समानान्तर समिति बनाएका थिए। पौडेल अध्यक्ष माधव नेपालका आफ्नै भाञ्जा हुन् । उनै भाञ्जाको दवावमा विकलाई जिम्मेवारीबाट हटाइएको स्रोतको दाबी छ । तत्कालीन अध्यक्ष नरेश शाही सुदूरपश्चिम प्रदेश सभामा सांसद निर्वाचित भएपछि विक र पौडेल अध्यक्षका दावेदार थिए । आफ्नै भाञ्जालाई अध्यक्ष बनाउन जोडबल गरेका माधवले अन्तिममा नसकेपछि त्यो बेलाको बदला अहिले लिएको स्रोतको दाबी छ ।
यता लामा पदमुक्त भएपछि अखिल अध्यक्षको जिम्मेवारी महासचिव महेश श्रेष्ठले पाउने निश्चित भएको छ । पछिल्ला दिनमा अध्यक्ष माधवकुमार नेपालले आफू निकटस्थबाहेकका जनसंगठनका अध्यक्षलाई जिम्मेवारीमुक्त गर्ने योजना बनाएका छन् । त्यसै अनुरुप लामा र विक जिम्मेवारी मुक्त भएका हुन् ।