Logo

क्रान्तिकारीको चुनावमा संस्थापनलाई गम्भीर धक्का, ३३ पदाधिकारीमध्ये जनार्दन समूहका २२ जना निर्वाचित (सूचीसहित)



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको निर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएको छ । गत शनिबार भएको २३औं राष्ट्रिय सम्मेलन अन्तर्गतको निर्वाचनको मतपरीणाम बुधबार राती घोषणा गरिएको हो ।

बुधबार राती सार्वजनिक मतपरीणाम अनुसार अध्यक्षमा विजय प्रकाश सापकोटा निर्वाचित भएका छन् । सापकोटाले ६८६ मत पाउँदा उनका निकठतम प्रतिस्पर्धी हेमन्त राईले ६१५ मत पाए । त्यस्तै उपदेश यादवले ३१० र सुदीन पौडेलले १९२ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

३३ पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य, आयोगका पदाधिकारी तथा सदस्य गरी कुल ३१२ पदका लागि ५०० जनाको उम्मेदवारी परेको थियो । अध्यक्षका लागि चार जना ले मनोनयन दर्ता गरेको भएपनि मूख्यगरि सापकोटा र राईबीच तीव्र प्रतिस्पर्धा देखिएको थियो ।

सापकोटालाई माओवादी नेतृत्वको अर्थात संस्थापन पक्षले समर्थन गरेको थियो । पूर्व मन्त्री सुदन किरातीका स्वकीय सचिव रहेका राईलाई उपमहासचिव जनार्दन शर्माले उम्मेदवार बनाएका थिए । अध्यक्षमा पराजित भएपनि ३३ जना पदाधिकारीमध्ये २२ जना भने जनार्दनले समर्थन गरेको अर्थात राई प्यानलका निर्वाचित भएका छन् ।

अध्यक्ष हारेपनि राई समूहका रोशन थापामगरले महासचिव तथा फूलमाया रानाले कोषाध्यक्ष जितिन् । दुवै उम्मेदवारले संस्थापन समूहका उम्मेदवारलाई पराजित गरेका थिए । रोशनले ५९२ मत पाउँदा सञ्जयकुमार महतोले ४१० मत मात्र पाए । कोषाध्यक्षमा फूलमायाले ५९६ मत ल्याउँदा पार्वता चम्लागाईले ५१५ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै ९ उपाध्यक्षमा ४ जना जर्नादन समूहका निर्वाचित भएका छन् । उपाध्यक्षमा निर्वाचित भएका छात्रातर्फ ममता अधिकारी, आदिवासी जनजातितर्फ सन्दीप पुन, मधेशीतर्फ अभिमन्यु यादव र खस आर्यतर्फ उमेश कँडेल जनार्दन समूहका हुन् भने मदन ढकाल, अटल आचार्य, विराज थापा, कृष्णबहादुर सुनार र दीपा जैशी अन्य समूहका हुन् । खुल्ला उपाध्यक्ष जित्ने दीपा कुनै पनि समूहमा नपरेकी नेतृ हुन् ।

त्यस्तै ९ जना उपमहासचिवमध्ये ७ जना शर्मा प्यानलका निर्वाचित भएका छन् । जसमा मधेश प्रदेशबाट गजेन्द्र यादव, बागमती प्रदेशबाट निर्मला गौतम, गण्डकी प्रदेशबाट भगवान बास्तोला, लुम्बिनी प्रदेशबाट रेशम अधिकारी, कर्णाली प्रदेशबाट प्रकाश अधिकारी, सुदूरपश्चिम प्रदेशबाट रामचन्द्र भट्ट र विश्वविद्यालय प्रदेशबाट जटिल कार्की छन् । त्यस्तै कोशीबाट निर्वाचित विपिन पोखरेल र उपत्यका विशेष प्रदेशबाट निर्वाचित निरोज श्रेष्ठ संस्थापन निकटका हुन् ।

क्रान्तिकारीको निर्वाचनमा १२ जना सचिवका लागि भएको मतदानमा ६२ जनाको प्रतिस्पर्धा थियो । १२ जनाध्ये ९ जना जनार्दन समूहको भएको बताईन्छ । स्रोतका अनुसार सचिवमा निर्वाचित वीरेन्द्र जिसी, प्रेम जैशी, सम्झना राई, तिर्सना आलेमगर, सम्कृति पुन, अमर मण्डल, जितेन्द्र भण्डारी र युन्छो हाङ्ग मावो जनार्दन समूहका हुन् । त्यसबाहेक शिशिर बस्याल, आशा उपरकोटी, अर्टिष्ट मोक्तान, किरोज अह्मद निर्वाचित भएका छन् । मुस्लिमतर्फको सचिवमा निर्वाचित मिरोज जनार्दन समूहका हुन् भने शिशिरलाई कुनै पनि गुटले पत्याएको थिएन ।

यता अनुशासन आयोगको अध्यक्षमा इन्दिरा रेग्मी र लेखा आयोगको प्रमुखमा सुष्मा रेग्मी निर्वाचित भएका छन् । पुरी पनि जनार्दन निकट मानिन्छन् ।

गत असोज १० देखि १५ गतेसम्म भएको अखिल क्रान्तिकारीको सम्मेलनमा उमेर हदको विवाद चर्किएपछि बन्द सत्र स्थगन भएको थियो।

यसलाई गत पुस १३ गते मतदानमार्फत ३२ वर्षे उमेर हद लगाउने नीति बहुमतले पास गरिएको थियो।

हेर्नुहोस् अन्तिम मतपरिणाम



प्रतिक्रिया दिनुहोस्