काठमाडौं, १७ माघ । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिदको परिभाषालाई हल्का बनाइदिएको टिप्पणी गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्ड प्रधानमन्त्री भएको बेलामा द्वन्द्वको क्रममा मरेका÷मारिएका जो पायो त्यहीलाई सहिद घोषणा गरिदिएको बताएका हुन् ।
नेता तामाले सहिदको परिभाषा यसरी हलुका बनाउन नहुने बताए । यसरी जो पायो त्यहीलाई सहिद घोषणा गरिने पद्धति सच्याउनुपर्ने आफूहरुको धारणाा रहेको पनि उनले बताए ।
‘जति द्वन्द्वमा मरेका, मारिएका छन्, द्वन्द्वमा अन्य विविध कारणले पनि मारिएका छन् । परिवर्तनको लागि लडेर होईन, त्यस्ताहरुको समेत नाम राखेर घोषणा गरेको स्थिति हुँदाखेरी सहिदको परिभाषा चाहीँ अलि हल्का बनाउनुभयो । त्यो कुरालाई सच्याउनुपर्छ भन्ने हाम्रो दृष्टिकोण हो । त्यस्तो हल्का बनाउन हुँदैन सहिदको परिभाषालाई,’– उनले भने ।
प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले २०८० पुसमा विभिन्न घटना–दुर्घटनामा परी ज्यान गुमाएकाहरूलाई समेटेर २ हजार ६७४ जनालाई थप सहिद घोषणा गरेको थियो
उक्त थपिएको सहीदको संख्यासहित नेपालमा सहिदको संख्या १४ हजार ७९८ पुगेको छ । सरकारले सहिद परिवारलाई १० लाख रूपैयाँ आर्थिक सहयोग दिँदै आएको छ। पछिल्लो पटक समेटिएका सूचीमा यसअघि माओवादीका तर्फबाट सहिदको सूचीमा नभएकाहरू पनि समेटिएको भन्दै आलोचना भएको थियो ।