काठमाडौं, १७ माघ । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले पाथीभरामा केबलकार बन्नुपर्ने बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पाथीभरामा केबलकार बनाएको खण्डमा धार्मिक पर्यटनको विकास हुने बताएका हुन् । अहिले पाथीभरामा जान निकै समस्या रहेको र कतिपयले मान्छेलाई बोकेर पनि दर्शनका लागि लाने गरेको बताए । पाथीधभरका केवलकार बनाउने भनेर स्थानीय, प्रदेश र संघीय सरकारलेसमेत अनुमति दिएको स्मरण गराउँदै उनले केही मान्छेको स्वार्थका लागि उक्त कार्य नरोकिने बताए ।
‘केबलकार बनाउनुपर्छ भन्ने मेरो अहिले देखिको भनाइ होईन । ०७४ सालमा नै चुनाव लड्दा मेरो प्रतिवद्धतामा केबलकार बनाउनुपर्छ भनेर लेखेको छु । एमाले, माओवादी, कांग्रेस र अर्को कोहीपनि अछुत छैन, केबलकार बनाउनुपर्छ भन्ने कुरामा सबैको एकमत छ । सबैले चुनावमा बोलेका छन्,’– उनले भने ।
नेता भट्टराईले आधुनिकताले धर्म संस्कृतिको झनै प्रचारप्रसार हुने बताए । केबलकारको विषयमा अहिले भइरहेको विवाद चाँडै नै समाधान हुने उनले विश्वास व्यक्त गरे । केबलकारको विरोध गरिरहका पक्षसँग केन्द्रीय सरकारले नै वार्ता गरेर समस्याको समाधान खोजिने उनले बताए ।