Logo

विद्या भण्डारी राजनीतिमा आउन हुँदैन भन्नेले राजसंस्थाको पक्षमा उभिने हिम्मत गर्नुपर्छ: कमल थापा



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किन लागेको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

थापाले सामाजिक सञ्जाल ‘एक्स’ मा राजनीतिमा आउनु र नआउनु व्यक्तिको अधिकार भएको बताएका छन् । उनले पूर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन भन्नेले राजसंस्थाको पक्षमा उभिने हिम्मत गर्नुपर्ने बताएका छन् ।

‘पूर्वराष्ट्रपति राजनीतिमा सक्रिय हुने नहुने व्यक्तिको चाहनाको विषय हो। दलको टिकटबाट निर्वाचित राष्ट्रपति दलभन्दा बाहिर हुँदैन’ थापाले भनेका छन् ‘पूर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन भन्नेले राजसंस्थाको पक्षमा उभिने हिम्मत गर्नुपर्छ। दलीय स्वार्थभन्दा माथी उठेको राष्ट्रप्रमुख राजसंस्था मात्र हुन्छ’ ।

तत्कालीन नेकपा एमालेकी उपाध्यक्ष रहेकी पूर्व राष्ट्रपति भण्डारी फेरि सक्रिय राजनीतिमा फर्किने तयारीमा छिन् । एमालेमा रहँदा अध्यक्ष केपी शर्मा ओलीको निकटमा रहेरै काम गर्दै आएकी भण्डारी अब भने ओलीलाई नै टक्कर दिनेगरि राजनीतिमा आउने तयारीमा छिन् ।

पहिलोपल्ट २०७२ कात्तिकमा र त्यसपछि २०७४ फागुनमा राष्ट्रपति बनेकी भण्डारी नियमित दुई कार्यकाल सकेर २०७९ फागुनमा शीतल निवासबाट बिदा भएकी थिइन् । त्यसको केही समयपछि उनी पुनः सक्रिय राजनीतिमा फर्कने तयारीमा लागेकी हुन् ।



प्रतिक्रिया दिनुहोस्