काठमाडौं, १७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष एवं पूर्व गृहमन्त्री बुद्धिमान तामाङले देशमा भ्रष्टाचार चरम सीमामा पुगेको बताए । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले देशमा भ्रष्टाचारले सीमा नाघेको र सुशासन र डेलिभरी शून्य भएको बताएका हुन् ।
साथै, नेता तामाङले अध्यादेशबाट शासन गर्ने वर्तमान सरकारको नियतलाई संसद्मा विरोध गरिने उनले बताए । सरकारको स्वैच्छाचारी गतिविधिको विरुद्धमा संसद्मा प्रतिपक्षी दलहरु एक हुने उनले बताए । अध्यादेशको विरुद्धमा सत्तापक्षी दलहरुका नेताहरुले पनि विरोध गर्नुपर्ने बताए ।
‘अहिले भ्रष्टाचार चरम सीमामा पुगिसकेको छ । मूल्यवृद्धिले आकाश छोइसकेको छ । सुशासन र डेलिभरी शून्य रुपमा छ । देशको जल्दोबल्दो समस्या र जनजीविकाको सरोकार भएको विषय र अध्यादेशबाट शासन गर्ने सिस्टम यो सरकारले गरेको छ, यसको विरोधमा हामी प्रतिपक्षहरु र अरु सत्तापक्षले पनि बोल्नुपर्छ भन्ने मलाई लाग्छ,’– उनले भने ।
उनले वर्तमान सत्ता गठबन्धनलाई अप्राकृतिक गठबन्धनको संज्ञा दिए । सुशासन, भ्रष्टाचार नियन्त्रणलगायतका कुरा जुनसुकै दल सरकारमा आउँदा पनि भन्ने गरेको स्मरण गराउँदै उनले वर्तमान सरकार पनि त्यसैको निरन्तरता रहेको बताए । माओवादी, एकीकृत समाजवादीलगायतका दलमा सबै कुरामा सहमति र सहकार्य नहुने बताउँदै उनले संसद्मा भने केही मुद्दामा सहकार्य हुने र प्रतिपक्षको धर्म निभाइने बताए ।