Logo

नेताहरूको आलोचना गर्न नपाऊन् भनेर सरकारले सामाजिक सञ्जाल विधेयक ल्यायोः माओवादी उपाध्यक्ष सापकोटा



काठमाडौं, १७ माघ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाले सरकारले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्नेगरी सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन विधेयक ल्याएको बताएका छन् । आज (बिहीबार) संवाद डबलीमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्र्दै उनले सार्वभौमसत्ता, भौगोलिक अखण्डता र सामाजिक सद्भाव खल्बलिएको कुरा ल्याएर सरकारले प्रेस स्वतन्त्रता खोस्न खोजेको बताएका हुन् ।

‘सामाजिक सञ्जाल नियमनको नाममा प्रेस स्वतन्त्रता कुण्ठित गर्ने, यो नियमन होईन, व्यक्तिको सुरक्षामा केन्द्रीत होईन । नेताहरुको आलोचना गर्न नपाउन् भनेर रोक्न यो गरिएको छ । निरङ्कुश शासकहरुले यस्तै–यस्तै बहानाबाजी गरेर, सार्वभौमसत्ताको कुरा ल्याएर, भौगोलिक अखण्डताको कुरा ल्याएर र सामाजिक सद्भाव खल्बलिएको कुरा ल्याएर नियमनको नाममा प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम गरेको छ । यसको हामी घोर विरोध गर्छौं । भोलिदेखि संसद्को बैठक पनि चल्दैछ । यो प्रमुख एजेण्डाको रुपमा परेको छ,’– उनले भने ।

साथै, पछिल्लो समय आइरहेका विभिन्न घटनाक्रममा सरकार बेखबर रहेको उनले बताए । सरकारले विभिन्न आन्दोलनका बलिदानी र २०७२ सालको संविधानको भावनाविपरीत कुनियत राखेर सामाजिक सञ्जाल नियमन अध्यादेश ल्याएको उनको दाबी छ । वर्तमान सरकार दिनदिनै कमजोर भइरहेको बताए । दिनदिनै कमजोर हुँदै गएको सरकार जहिले पनि निरङ्कुश नै हुने उनको तर्क छ । जनतालाई भ्रममा पार्न सकिन्छ भनेर सरकारले राष्ट्रियता, सार्वभौमताको विषय जोडेर सामाजिक सञ्जाल नियमन विधेयक ल्याएको उनले दाबी गरे ।

‘दिनदिनै नयाँ–नयाँ घटनाक्रमहरु आइरहेका छन् । यो घटनाक्रमहरुमा सरकार बेखबर छ । सरकारर अहिले घेराबन्दीमा परेको छ । अब जनताको मुख थुन्न पर्यो । नेपाल आमाका दशैं हजार सर्वोत्तम छोराछोरीले बलिदान गरेर प्राप्त गरेको व्यवस्था र २०७२ सालमा जारी गरिएको संविधानको मर्म र भावनाविपरीत अभिव्यक्ति स्वतन्त्रलाई कुण्ठित गर्न राष्ट्रियता र अखण्डतालाई बहाना बनाइएको छ । राष्ट्रियता, सार्वभौमता भनेपछि जनतालाई भ्रम पार्न सकिन्छ भनेर गरेको हो । यहाँ नियत अर्कै छ,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्