काठमाडौं, १७ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले अहिले देशको अर्थतन्त्र आईसीयूमा रहेको बताएका छन् । आज (बिहीबार) नेपाल चेम्बर एक्स्पो उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोमामा रहेको देशको अर्थतन्त्र वर्तमान सरकार बनेपछि आईसीयूमा आइपुगेको बताएका हुन् । उनले अब छिट्टै देशको अर्थतन्त्र आईसीयूबाट पनि बाहिर आउने दाबी गरे ।
साथै, देशको अर्थतन्त्रमा रहेको समस्या समाधानका लागि नै वर्तमान सरकारले अध्यादेशमार्फत विभिन्न ऐन संशोधन गरेको बताए । ऐन संशोधनमार्फत कानुनी र नीतिगत बाधाहरु फुकाइएको बताउँदै उनले अब अर्थतन्त्रका समस्या क्रमशः सुधार हुँदै जाने बताए ।
‘हामी सरकारमा आउँदा अर्थतन्त्र कोमामा थियो । त्यो कोमामा भएको अर्थतन्त्रलाई हामीले कमसेकम आईसीयूमा ल्याएका छौं । त्यसलाई हामी बाहिर निकाल्न चाहन्छौं । त्यही उद्देश्यका साथ कानुनी क्षेत्रमा, नीतिगत क्षेत्रमा रहेका समस्याहरु, बाधाहरु थिए, त्यसलाई हल गर्न हामीले अध्यादेश जारी गरेका छौं । त्यो अध्यादेशले धेरै कुराहरु फुकाएको छ भन्ने हामीलाई लागेको छ,’– उनले भने ।