Logo

अखिल (क्रान्तिकारी) को नवनिर्वाचित टिमले शैक्षिक आन्दोलनको अगुवाई गर्ने प्रचण्डको विश्वास



काठमाडौं, १७ माघ । नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का नवनिर्वाचित पदाधिकारीहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् । अखिल (क्रान्तिकारी) को २३ औं महाधिवेशनबाट अध्यक्षमा विजय प्रकाश शर्मा सापकोटा, उपाध्यक्षमा अटल आचार्य, मदन ढकाल, विराज थापा, ममता अधिकारी, सन्दिप पुन, कृष्णबहादुर सुनार, अभिमन्यू यादव उमेश कँडेल निर्वाचित भएका थिए । महासचिवमा रोशन थापा मगर, उप–महासचिवमा विपिन पोखरेल, गजेन्द्र यादव, निर्मला गौतम, भगवान बास्तोलालगायत निर्वाचित भएका थिए ।

नवनिर्वाचित पदाधिकारीको टिम आज विहानै खुमलटार आएर भेट गरेको खुलाउँदै प्रचण्डले भनेका छन्, ‘आज विहान खुमलटारमा अखिल (क्रान्तिकारी) का नवनिर्वाचित पदाधिकारीहरूसङ्ग भेट भयो। आन्तरिक लोकतन्त्रको अभ्यासमार्फत निर्वाचित नौजवान युवाहरूको उर्जा नेपाली समाजको अग्रगामी रुपान्तरणका लागि शैक्षिक आन्दोलनको अगुवाई र राजनैतिक आन्दोलनको सेवा गर्न सहि ढंगले प्रयोग हुने विश्वास लिएको छु। सम्पुर्ण निर्वाचित टिमलाई पुनः हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।’

विद्यार्थी आन्दोलनबाट विदाई भएका सबैलाई पार्टीका विभिन्न भूमिकामा रहेर क्रियाशील हुन पनि उनले आग्रह गरेका छन् । साथै, सम्मेलन सफल पार्न अहोरात्र खट्ने निर्वाचन आयोग, समिति, पार्टी पंक्ति, युवा तथा अन्य जनसंगठन, सुरक्षाकर्मीलगायतप्रति प्रचण्डले धन्यवाद व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्