Logo

ओखलढुंगामा गाडी भिरबाट खसेपछि ‘बेपत्ता’ भएका चालक भक्तपुरमा फेला, दुर्घटनामा ३ जनाको मृत्यु हुँदापनि प्रहरीलाई दिएनन् जानकारी



काठमाडौं । बिहीबार बिहान ओखलढुंगामा भएको टाटासुमो दुर्घटनाका फरार चालक भक्तपुरमा फेला परेका छन् ।

खोटाङको दिक्तेलबाट बिरामी लिएर काठमाडौँतर्फ आउँदै गरेको ‘पूर्व खोटाङ यातायात प्रालि’को ना १ ज ६४२१ नम्बरको सुमो बिहीबार बिहान ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-७ टोक्सेलस्थित भँडारेखोलामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो।

सो दुर्घटनामा परेर तीन जनाले ज्यान गुमाएका छन् । तर, सामान्य घाइते भएका चालक भने घटनास्थलबाट भागेर भक्तपुर आईपुगेको खुलेको छ । प्रहरीका अनुसार उक्त टाटासुमो सुनसरीको इनरुवा नगरपालिका निवासी २२ वर्षीय अनिल पण्डितले चलाएका थिए ।

प्रहरीका अनुसार चालक पण्डितको भक्तपुरस्थित इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ । उनले सुमो दुर्घटनाबारे प्रहरीलाई समेत जानकारी नदिएको देखिएको छ । उनी सामान्य घाइते मात्रै भएका प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परेर खोटाङको केपिलासगढी गाउँपालिका–३ बास्पानीकी ५६ वर्षीया माया गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा निवासी मायाकी बहिनी ४५ वर्षीया तारा गुरुङको ज्यान गएको छ ।

आगोले पोलेर घाइते भएकी मायालाई लिएर उनका छोरा पुजन र बहिनी तारा काठमाडौँ आउँदै गरेको अवस्थामा सो दुर्घटना भएको हो । यसबारे थप अनुसन्धान भइरहेको र चालक फेला परेको हुँदा सत्यतथ्य बुझ्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्