
काठमाडौं, १८ माघ । नेकपा (एमाले) का सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले अध्यादेशबाट जन्मिएको पार्टीले अध्यादेशको विरोध गरिरहेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले अध्यादेशबाट जन्मिएको पार्टीले नै अध्यादेशको विरोध गर्नु अचम्म लाग्दो रहेको बताए ।
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी केन्द्रीत गर्दै उनले भने ‘जुन अध्यादेशबाट जन्मिएको पार्टी हो, त्यो पार्टी अध्यादेश गलत हो भन्दै छ । यो चाहिँ बडा गजब, अचम्म लाग्दो छ । अध्यादेशबाट जन्मिएको छ, अध्यादेश ठीक छैन भनिरहेको छ । यो के हुन लागिरहेको नेपालमा ? अचम्मै भइराखेको छ,’– उनले भने ।
साथै, अध्यादेशको विरोध गर्ने अधिकार संसद्मा प्रेम सुवाल र योगेन्द्र मण्डललाई रहेको उनले बताए । उनीहरु आजसम्म सरकारमा सहभागिता नरहेको र त्यसदेखि बाहेक कसैले अध्यादेशको बारेमा विमत्ति राख्नु नौटंकी हुने उनले बताए । ‘अध्यादेशको प्रक्रियाको बारेमा विरोध गर्ने कसैले अधिकार राख्छ भने जम्मा दुई जना माननियहरुले राख्नुहुन्छ, माननीय प्रेम सुवाल र माननीय योगेन्द्र मण्डल । उहाँहरुको आजसम्म सरकारमा सहभागिता छैन । त्यसदेखि बाहेक कुनैपनि दल, कुनैपनि माननीयले अध्यादेशको प्रक्रियाको बारेमा विमति राख्नु त्यो नौटंकी हो । किनभने सबैले कुनै न कुनै बेला भाग लिएका छौं, अध्यादेशमा सही गरेका छौं । उहाँहरु दुई जनालाई यो अधिकार छ । अरु कोहीपनि यसबाट अछ्ुतो छ जस्तो मलाई लाग्दैन,’– उनले भने ।
त्यसैगरी, सहकारी ठगी छानविनको प्रक्रिया संसद्ले दिएको निर्देशनअनुसार रहेको उनले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुलाई उनले शिशिर खनालले सही गरेको प्रतिवेदन सम्झिन आग्रह गरे । सरकारमाथि औंला उठाउनुको कुनै औचित्य नरहेको उनले बताए ।