
काठमाडौं, १८ माघ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालका अध्यक्ष सुवोधराज सेर्पालीले वर्तमान सरकारले भ्रष्टाचारीको संरक्षण गरिरहेको र कांग्रेस–एमालेलगायतका दलहरु रमिते बनिरहेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) समाजवादी मोर्चामा आवद्ध राजनीतिक दलका युवा संगठन समाजवादी युवा मोर्चाले आयोजना गरेको संयुक्त प्रदर्शनलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार वर्तमान सरकारको नशा र पेशा बनिसकेको बताए । समाजवादी युवा मोर्चाले भ्रष्टाचार, कालोबजारी, महँगीको विरुद्धमा र जनजीविकाका पक्षमा संयुक्त प्रदर्शन गरेको थियो ।
सोही क्रममा आयोजित कोण सभालाई सम्बोधन गर्दै सेर्पालीले भने,‘भ्रष्टाचारीलाई संरक्षण गर्ने वर्तमान सरकार, रमिते बन्ने कांग्रेस–एमाले र त्यसका भातृ संगठनहरु सबैलाई यही ठाउँबाट खबरदारी दिन चाहन्छौं । भ्रष्टाचार तिम्रो नशा हो, भ्रष्टाचार तिम्रो पेशा हो । प्रतिरोध गर्ने कम्युनिष्टहरुको अधिकार हो, हामी प्रतिरोध गर्छौं । हामी प्रतिरोधको ज्वाला फाल्न तयार छौं । तिमीहरुले गर्ने भ्रष्टाचारलाई तोड्न, भ्रष्टाचारको जालोलाई चुँडाल्न हामी तत्पर भइसकेका छौं ।’
वाईसीएल अध्यक्ष सेर्पालीले मुलुक रोइरहँदा सरकारभने विचौलिया र सेटिङवालाहरुको घर–घरमा मात्रै रहेको बताए । सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएर गिरीबन्धु टी स्टेटजस्ता हजारौं जग्गा कब्जा गर्न अध्यादेश ल्याएको सेर्पालीको दाबी छ । नेता सेर्पालीले सरकारले दिपक मलहोत्राजस्तालाई बोकेर हिँडिरहेको र कमिशनको खेलमा जग्गा जमिन मासिरहेको दाबी गरे ।
‘आज मुलुक रोइराखेको छ, मुलुकले सरकार खोई भनिराखेको छ । तर, सरकार बालुवाटारमा छ । सरकार विचौलियाहरुको घर–घरमा छ । सरकार सेटिङवालाको घर–घरमा छ । सरकार गिरीबन्धु टि स्टेटजस्तै १० वटा टी स्टेट कसरी आफ्नो नाममा बनाउन सकिन्छ भनेर खोजीमा छ । सरकारले दिपक मलहोत्राहरुलाई बोकेर कमिशनको खेलमा नेपालको जग्गा जमिन बेच्ने चक्करमा छ । यो सरकार जनताको प्रतिनिधत्व गर्ने सरकार होईन, संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्न अगाडि बढ्ने सरकार होईन । यो सरकार विचौलियाहरुले बनाएको, अप्राकृतिक तरिकाले बनेको सरकार हो । यो सरकारबाट जनताको पक्षमा काम होला भन्ने आशा गर्न सकिँदैन,’– उनले भने ।
साथै, उनले भ्रष्टाचारीहरुलाई कालोमोसो दल्दै चोक–चोकमा उभ्याउने बेला आएको बताए । नेता सेर्पालीले भ्रष्टाचारीलाई संरक्षण गर्ने जघन्य अपराधीहरुलाई कानुनी कठघरामा उभ्याउन पनि आवस्यक रहेको बताए । उनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग तत्कालीन सरकारले गरेको तीन बुँदे सम्झौता कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकार्षण गराए । नेता शेर्पालीले वर्तमान सरकार मण्डलेहरु र तानाशाहीहरुको रहेको दाबी गरे । २०६४ सालमा जनप्रतिनिधिहरुले गरेको भ्रष्टाचार भनेर बागमती नगरपालिकामा २०७४ सालमा निर्वाचित भरत थापालाई मुद्दा लगाइएको सेर्पालीको दाबी छ । नेता सेर्पालीले उक्त भुठा मुद्दा तुरुन्त फिर्ता लिन सरकारलाई चेतावनी दिए । उक्त भुठा मुद्दा फिर्ता नलिइए सिंहदरबारबाट थुतेर जनकारबाही गरिने उनको चेतावनी छ ।
‘आज यो मण्डलेहरुको सरकारले, तानाशाही सरकारले २०६४ सालमा जनप्रतिनिधिहरुले गरेको भ्रष्टाचार भनेर २०७४ मा निर्वाचित जनप्रतिनिधिलाई झुठा मुद्दा लगाएको छ । यो झुठा मुद्दा तत्काल खारेज गर्न सरकारलाई म चुनौति दिन चाहन्छु । यदि झुठा मुद्दा खारेज गरिँदैन भने तिम्रा दरबारहरुमा छिरेर, तिमीलाई थुतेर जनताको तर्फबाट कारबाही गर्ने हैसियत हामीसँग छ,’– उनले भने ।