
काठमाडौं, १९ माघ । पूर्व उपप्रधान एवं गृहमन्त्री भीम रावलले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्नेलाई कानुन संशोधन गरी फाँसीको सजाय दिनुपर्ने बताएका छन् । आज (शनिबार) दिपालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । केपी शर्मा ओली अघिल्लो पटक प्रधानमन्त्री भएको बेला नक्कली भुटानी शरणार्थी प्रकरण बनाएर नेपाली पठाउने काम भएको उनले बताए । तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समेतको सो प्रकरणमा संलग्नता हुनसक्ने उनको आशंका छ ।
त्यस्तै, प्रधानमन्त्री ओलीसँग मानव तस्करीको आरोपमा मुछिएका. कोशी प्रदेशका निर्वतमान मन्त्री लिलाबल्लभ अधिकारीको निकट सम्बन्ध रहेको उनले बताए । समाजमा भन्नै नहुने आरोप लागेर हिँडिरहेका नेताहरुलाई ओलीले नदेखेझैं गर्नेगरेको नेता रावलको आरोप छ । ओलीले सबैतिर उट्पट्याङ काम गरिरहेको उनले बताए । झापामा ओरिपरी सुकुम्बासी वस्ती रहेको बीचमा ओलीले १८ तले भ्यू टावर बनाइदिएको उनले बताए । ओलीलाई उनले सामन्ति शासकको संज्ञा दिए ।
त्यस्तै, नेता रावलले सरकारले पछिल्लो गलत मनशाय राखेर अध्यादेशमार्फत कानुन संशोधन गरेको उनको आरोप छ । अध्यादेशमार्फत वन जंगल क्षेत्र व्यक्तिलाई दिने कानुन बनाइएको उनले बताए । प्रधानमन्त्री ओलीमा प्रवृत्ति गर्छु भनेको काम नगर्ने र गर्दिनँ भनेको काम गर्ने प्रवृत्ति रहेको उनको टिप्पणी छ । File Photo/RN