Logo

बुटवल सम्मेलन २०२५ः शिक्षामा प्रविधि एकीकरणको नयाँ आयाम



काठमाडौं, १९ माघ । नेपाल स्टेम एलायन्सद्वारा आयोजित बुटवल सम्मेलन–२०२५ दियालो फुडल्याण्ड, कालिकानगर, बुटवलमा सफलतापूर्वक सम्पन्न भएको छ । यस सम्मेलनले शिक्षक, विद्यार्थी, नीति निर्माताहरू, तथा उद्योग नेताहरूलाई शिक्षामा प्रविधिको एकीकरणका विषयमा छलफल गर्न एक मञ्च प्रदान गरेको थियो ।

कार्यक्रमको सञ्चालन फागुन एआईका सीईओ तथा नेपाल स्टेम एलायन्सका प्रविधि तथा मार्केटिङ सल्लाहकार सौगात बास्तोलाले गरेका थिए । सम्मेलनको औपचारिक सुरुवात नेपाल स्टेम एलायन्सका प्रमुख सल्लाहकार राजेन्द्र घिमिरेद्वारा स्वागत भाषण मार्फत गरिएको थियो । जसमा शिक्षामा प्रविधिको भूमिकाका बारेमा चर्चा गरिएको थियो ।

सम्मेलनमा प्रतिष्ठित वक्ताहरूको विशेष सत्र समावेश गरिएको थियो । शिक्षाविद् डा. रामहरि लामिछानेले विद्यार्थीहरूको जीवनमा प्राविधिक सीपहरूको लक्ष्य र भूमिका विषयमा महत्वपूर्ण विचार प्रस्तुत गरेका थिए । नेपालको आइ बी कार्यक्रमका प्रशिक्षक मंगोलिका चक्रवर्तीले कक्षा कोठामा प्रगतिशील शिक्षण सिकाइ पद्दति र नवीनतम शिक्षण विधिहरू प्रस्तुत गरेका थिए ।

नेपाल स्टेम एलायन्सका शैक्षिक प्रमुख दिपर्सन श्रेष्ठले बुटवलका विद्यार्थीहरू मानवी र प्रवेशद्वारा तयार गरिएका प्रोजेक्टहरू उजागर गर्ने विशेष सत्र संचालन गरे । यी विद्यार्थीहरू बिद्यालयपश्चात् कोडिङ कार्यक्रम मा नामांकन भएका थिए।

नेपाल स्टीमएलाएन्सका सन्स्थापक एवम प्रमुख कार्यकारी अधिकृत सुशील बुढाथोकीले आधुनिक विश्वमा कोडिङ र प्राविधिक सीपहरूको प्रवृत्ति तथा बुटवलसँगको तुलना विषयमा जानकारी प्रस्तुत गरिन् ।

कोडिङ ओलम्पियाड नेपालका कार्यक्रम संयोजक सुसन डंगोलले कोडिङ ओलम्पियाड नेपालको यात्रा प्रस्तुत गरे । कोडिङ ओलम्पियाड नेपाल २.० को आधिकारिक रूपमा सुरुवात गरे । यसको उद्घाटन लुम्बिनी प्रदेशका पूर्वमन्त्री विष्णु पन्थीद्वारा गरिएको थियो । कोडिङ ओलम्पियाड नेपाल २.० फागुन ३, २०८१ मा आयोजना गरिनेछ।

लुम्बिनी प्रदेशका नव–निर्वाचित प्याब्सन अध्यक्षले विद्यालयहरूले नयाँ प्रविधिहरूलाई अवलम्बन गर्न आवश्यकताहरू बारेमा प्रकाश पारे ।

मुख्य अतिथि विष्णु पन्थीले नयाँ प्रविधिहरूलाई शिक्षण पद्दतिमा समावेश गर्न नीति परिवर्तनको आवश्यकता औंल्याए ।

सम्मेलनको समापन लुम्बिनी वर्ल्ड स्कूलका प्रधानाध्यापक विष्णुप्रसाद ढकालद्वारा गरिएको थियो । उनले कोडिङ कक्षा स्कुल पाठ्यक्रमको सफल कार्यान्वयनको आफ्नै लुम्बिनी वर्ल्ड स्कुलको दुई बर्षको अनुभव बाडेका थिए ।

बुटवल सम्मेलन २०२५ को सफल आयोजना संगै, नेपाल स्टेम एलायन्सले प्रविधि शिक्षामा रहेको खाडललाई कम गर्दै विद्यार्थीहरू र शिक्षकहरूलाई नवीनतम डिजिटल युगमा अघि बढ्न आवश्यक सीप प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ। यस कन्फेरेन्समा ६०० भन्दा बढीको उपस्थिति रहेको थियो।



प्रतिक्रिया दिनुहोस्