Logo

सम्झौता थप नगर्ने क्यानको निर्णयपछि मोन्टीको भावुक सन्देश- यो गुडबाई होइन, धन्यवाद हो



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका मुख्यप्रशिक्षक मोन्टी देसाइको सम्झौता थप नगर्ने भएको छ।

शनिबार एक विज्ञप्ति जारी गर्दै क्यानले मोन्टीलाई धन्यवाद दिँदै अब सम्झौता नथप्ने निर्णय गरेको हो । देसाइलाई दुई वर्ष कार्यकाल रहने गरि नियुक्त गरिएकोमा सम्झौता सकिएको र क्यानले सो सम्झौता नवीकरण नगर्ने निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ।

मोन्टीको प्रशिक्षणमा नेपालले ओडीआइ मान्यता जोगाउनुका साथै विश्वकप छनोट, एसिया कप र दोस्रो पटक टी–२० विश्वकप खेलेको थियो।

क्यानले सम्झौता थप नगर्ने निर्णय लिएपछि भावुक बनेका मोन्टीले सबैलाई धन्यवाद दिएका छन् । उनले सामाजिक सञ्जालमा लामो स्टाटस राख्दै यो गुडबाई नभएर धन्यवाद भएको बताए । उनले आफ्ना लागि यी दुई वर्ष निकै अविस्मरणीय भएको बताउँदै यो समय विभिन्न मनमोहक क्षणहरू र कोसेढुङ्गाहरूले भरिएको उल्लेख गरेका छन् ।

‘१० जनवरी २०२३ मा मैले नेपाल क्रिकेट संघ (क्यान) सँग अवसरलाई अंगालेँ । नेपाल क्रिकेटमा स्थायी छाप छोड्ने आशाका साथ, उत्साह र उद्देश्यका साथ अज्ञात यात्रामा पाइला चालेँ, ’ प्रशिक्षक देशाईले लेखेका छन् ।

विगत २ वर्षको कार्यकालमा संगालेका यादहरुलाई उल्लेख गर्दै प्रशिक्षक देशाईले भनेका छन्, ‘यी दुई वर्ष अविस्मरणीय रहे, जसमा अमूल्य क्षणहरू र साझा उपलब्धिहरू संकलन भए । टीयू मैदानमा भएको एसिया कप छनोट, जहाँ समर्थकहरू रुखमा चढे, छातामुनि उभिए र मुलपानीमा विश्वकप छनोटको त्यो उर्जाले भरिपूर्ण माहोलले नेपालको क्रिकेट प्रेम र दृढता परिभाषित गर्‍यो ।’

यस्तो छ जाँदाजाँदै मोन्टीले लेखेको स्टाटस्को पूरारुप

प्यारो नेपाल

यो एउटा गुड बाइ होइन, हार्दिक धन्यवाद हो ।

१० जनवरी २०२३ मा मैले नेपाली क्रिकेटमा दिगो प्रभाव पार्ने आशामा उत्साह र उद्देश्यका साथ अज्ञातमा कदम चाल्दै नेपाल क्रिकेट एसोसिएसनसँगको अवसरलाई अँगालेँ ।

यी दुई वर्ष अविस्मरणीय रहे, जुन मनमोहक पलहरू र साझा कोशेढुंगाले भरिएको छ । टियू मैदानमा भएको एसिया कप छनोट, जहाँ फ्यानहरू कोही रुखमा चढेर त कोही छाता लिएर उभिएका थिए, र मुलपानीमा भएको विश्वकप छनोट जहाँ थामिनसक्नु भिड थियो, ले नेपालको जोश र लगावलाई प्रतिबिम्बित गर्थ्यो ।

यो यात्रामा आरोह अवरोहहरू थिए, र म क्यान व्यवस्थापन, छनोटकर्ता, खेलाडी, प्रशिक्षक, अफिसियल, स्कोरर, ग्राउन्ड्समेन, क्यामरामेन, कमेन्टेटर र मेरो कप्तान रोहित पौडेलसँग मिलेर सानो भूमिका निभाउन पाएकोमा आभारी छु । प्रत्येकले आफ्नो तर्फबाट योगदान दिए र हामीले निर्माण गरेको सौहार्दतालाई म गहिरो मूल्यांकन गर्छु ।

खेलाडीहरूका लागि

तिमीहरूले लाखौँको सपनाहरू बोकेका छौँ । मैदानमा अविचलित रहनु, एक–एक बल खेल्ने मानसिकता बनाउनु र बाउन्ड्रीहरु निकालिराख्नु । सम्बन्ध, खुलापन, एकता र उत्तरदायित्वमा निर्मित ‘हेप्पि ड्रेसिङ रुम’ को आदर्श सधैँ तिमीहरूको शक्ति हुने छ ।

सपोर्ट स्टाफहरूका लागि

पर्दा पछाडि तपाईँहरूको अथक प्रयास अमूल्य छ । मेरो चाहना हामीलाई उत्कृष्टतातर्फ धकेल्ने मात्र थियो । मेरो साथमा उभिनुभएकोमा धन्यवाद ।

फ्यानहरूलाई

तपाईँहरूको अटल समर्थन हाम्रो सबैभन्दा ठूलो शक्ति भएको छ । यो टोलीमा विश्वास राख्नुस् ।

क्यान म्यानेजमेन्टलाई

मलाई नेतृत्वको अवसर दिनुभएकोमा धन्यवाद । आधारशिला खडा भएको छ । एकताबद्ध रहनुस् र नेपाललाई गौरवान्वित राख्नुस् ।

नेपाली जनतालाई

नेपाल मेरो लागि घरभन्दा बाहिरको घर हो । यहाँ क्रिकेट कुनै खेलभन्दा बढी छ, यो एउटा भावना हो, जसले देशलाई एकजुट बनाउँछ ।
जय नेपाल



प्रतिक्रिया दिनुहोस्