
काठमाडौं, २० माघ । ताप्लेजुङबाट काठमाडौं आई बसेका र विभिन्न पेशा तथा व्यवसायमा आवद्ध रहेकाहरुले मुक्कुम्लुङ पाथीभरा सम्पदा संरक्षण संघर्ष समिति गठन गरेका छन् । पछिल्लो समय पाथीभरामा केवलकार निर्माण रोक्नको लागि अभियन्ताहरुले आन्दोलन जारी राखेका छन् । संघर्ष समितिका काठमाडौंका संयोजक नेपाली सेनाका अवकाशप्राप्त उपरथी अनन्तबहादुर थेबे छन् ।
पाथीभरा सम्पदा संरक्षण संघर्ष समितिका संयोजक थेबे केबलकार बनाइन नहुने बताउँछन् । पाथीभराको धार्मिक, सांस्कृतिक महत्वलाई दाउमा राखेर केबलकार निर्माण गर्ने कार्य आफूहरुलाई स्वीकार्य नरहेको उनको भनाइ छ । छिटो र सजिलोको नाममा सगरमाथामा केबलकार राख्न नमिल्ने उनको तर्क छ । ‘अब सजिलो त होला, सजिलो भनेर कहाँ केबलकार बनाउने, कहाँ नबनाउने त विचार गर्नुपर्ला नि । सजिलो भन्दैमा संसारको सबैभन्दा अग्लो चुचुरा, जुन गौरवको गाथा, शिर हो त्यहाँ पनि केबलकार बनाइदिने ?’ प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
केबलकार बनाउँदा पाथीभराको महिमा र गौरब सकिने उनको तर्क छ । केबलकार बन्दा पाथीभरा तिर्थस्थान नभएर मनोरञ्जनस्थल र क्रिडास्थलमा परिणत हुने उनले बताए । ‘मुक्कुम्लुङ (पाथीभरा) मा केबलकार बन्न हुँदैन । केबलकार बन्यो भने त्यहाँको पर्यावरण, वातावरण र दुर्लभ वन्यजन्तुको वासस्थान नष्ट हुने त छदै छ, हाम्रा पुर्खाहरुले वर्षौवर्ष लगाएर संरक्षण गरेको दुर्लभ वनस्पतिको पनि नष्ट हुँदैछ । त्यहाँ केबलकार गयो भने पाथीभरा तिर्थस्थान होईन, त्यो मनोरञ्जनस्थल हुनेछ, क्रिडास्थल हुनेछ । जसले गर्दा हामी सबैलाई डर छ कि पाथीभराको जुन महिमा र गौरव छ, त्यसको अवमूल्यन हुन्छ,’– उनले भने ।
पाथीभराका केबलकार कुनै हालतमा पनि बन्न नदिने उनले बताए । त्यहाँको जनताले केबलकार नचाहेको अवस्थामा गोली ठोकेर, बुट बजारेर गरिएको विकास आफूहरुलाई स्वीकार्य नहुने उनले बताए । उनले धर्म र आस्थामाथि कुनैपनि प्रकारको सम्झौता गर्न नसकिने बताए ।