Logo

०८४ को चुनावमा झापा-३ एमालेले राप्रपालाई नछाड्ने, एक्लै जित्ने गरी तयारी गर्न कार्यकर्तामा सर्कुलर



झापा । नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले झापा क्षेत्र नं-३ का नेता कार्यकर्तालाई आगामी निर्वाचनमा आफै जित्ने गरी तयारी गर्न निर्देशन दिएका छन् ।

यसअघिका निर्वाचनमा अरुलाई जिताउँदै आएको तर, अब आफै जित्ने गरी राम्रो तयारी गर्न उनले कार्यकर्तालाई निर्देशन दिएका हुन् । बाह्रदशी गाउँ कमिटीले आयोजना गरेको कार्यकर्ता मिलन कार्यक्रममा सम्बोधन गर्दै नेता विश्वकर्माले अरुलाई जिताउनुपर्ने दिन अब सकिएको धारणा व्यक्त गरे ।

एमाले बाह्रदशीका करिव सातसय नेता कार्यकर्ताहरू सहभागी भएको सो कार्यक्रममा सचिव विश्वकर्माको उक्त अभिव्यक्तिले सबै हर्षित भएका थिए । सचिव विश्वकर्माले एमालेलाई निर्णायक शक्तिको रूपमा स्थापित गर्नुपर्ने धारणा व्यक्त गरे । ‘एमालेसँग कसैको तुलना हुँदैन, एमाले राष्ट्रिय शक्ति हो’, उनले भने ‘एमालेलाई अब निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्छ । एमाले निर्णायक शक्ति भएपछि मात्रै मुलुकमा अस्थिरताको अन्त्य हुनेछ’ ।

राष्ट्रिय शक्ति नहुञ्जेलसम्म देशले अस्थिरता झेलिरहनुपर्ने उनको भनाइ छ । सचिव विश्वकर्माले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एकतावद्ध एमाले पहिलो र अनिवार्य शर्त भएको बताए। कांग्रेस एमालेबीचको समझदारी रहुँन्जेलसम्म मुलुकमा कुनै पनि समस्या नआउने बताउँदै नेता विश्वकर्माले सरकार र पार्टीले सोही अनुसारको कामलाई अघि बढाउनुपर्नेमा जोड दिए ।

पार्टीलाई बलियो बनाउन विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेको बताउँदै उनले फराकिलो मन बनाएर काम गर्न निर्देशन दिए । ‘पार्टीभित्र उदारभाव चाहिन्छ, सबैले आफ्नो जिम्मेवारी अनुसार काम गर्नुहोस्’, उनले भने । उनले जनप्रतिनिधिहरूलाई प्रतिवद्धतालाई ख्याल गर्दै काम गर्न आग्रह गरेका थिए ।

०७४ र ०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा झापा ३ बाट एमालेले संघीय उम्मेदवार उठाएको छैन् । दुवै निर्वाचनमा एमालेले सो क्षेत्र राप्रपालाई छाड्दै आएको छ । सोही क्षत्रबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उठ्दै आएका छन् ।

एमालेकै भोटले दुवै चुनावमा नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका लिङ्देन पछिल्लो समय एमालेविनै चुनाव लड्न तम्सिएका छन् । गत साता एक कार्यक्रममा उनले अर्को चुनाव एक्लै लड्ने उद्घोष गरेका थिए । लिङ्देनको उक्त उद्घोषलगत्तै एमालेले पनि कार्यकर्तालाई एक्लै जित्नते गरी तयारी थाल्न सर्कुलर गरेको हो ।



प्रतिक्रिया दिनुहोस्