Logo

अध्यादेश नानीबाबुहरुले घरपुतली खेलेजस्तो विषय होईनः वामदेव गौतम



काठमाडौं, २० माघ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले अध्यादेश नानीबाबुहरुले घरपुतली खेलेजस्तो विषय नरहेको टिप्पणी गरेका छन् । आज (आइतबार) राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले अध्यादेश जारी गर्दा प्रजातान्त्रिक परिपाटी उल्लङ्घन गर्न नहुने बताए । नेता गौतमले राज्य सञ्चालन, सत्ताधारी शक्तिलाई सकारात्मक सयोग पुग्नेगरी निर्माण गरिनुपर्ने बताए ।

‘अहिले केही समयदेखि अध्यादेशे राजनीतिक माहोल बनेको छ । म अध्यादेश पक्षधर पनि होईन, विपक्षमा पनि लागेको छैन । यसको सैद्धान्तिक पक्ष थाहा छ । अध्यादेश मुख्यतः राज्य सञ्चालन, सत्ताधारी शक्तिलाई सकारात्मक सयोग पुग्नेगरी निर्माण गरिएको संवैधानिक संरचना हो । तर, प्रजातान्त्रिक परिपाटी उल्लङ्घन नहोस् भनेर अध्यादेश जारी गर्न धेरै शर्तहरु पूरा गर्नुपर्छ । के कति अध्यादेश जारी गर्न सकिन्छ भनेर कुनै बार बन्देज संविधानमा छैन । तर, यो नानीबाबुहरुले घर पुतली खेलेजस्तो विषय पनि होईन । अध्यादेश जारी गर्दा प्रतिपक्षलाई पनि साथ लिनु राम्रो संस्कार मानिन्छ,’– उनले भने ।

साथै, उनले अहिले राष्ट्रलाई लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समृद्ध समाजवादको आवश्यकता रहेको बताए । देशलाई समाजवादतर्फ डोहोर्याउने दिशातर्फ सत्तापक्ष र प्रतिपक्ष कसैको ध्यान पुग्न नसकेको उनले बताए । नेपालमा समाजवादको संरचना निर्माण गर्न सकिने उनले बताए । समाजवाद निर्माण हुन नसकेको खण्डमा आफू मृत्युदण्ड पनि भोग्न तयार रहेको उनले बताए । ‘म आफूलाई दाउमा राख्न चाहन्छु, मलाई मृत्युदण्ड दिइयोस् यदि समाजवाद निर्माण हुन सक्दैन भने । वर्ष तोकियोस्, यति वर्षभित्र समाजवाद निर्माण गर्न सकिएन भने म मृत्युदण्डमा जान तयार छु । हाम्रो देशमा यहाँभन्दा अगाडि पुँजीवाद जान सक्दैन । यहाँभन्दा अगाडि जाने समाजवाद हो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्