Logo

माओवादी अग्रगामी संविधान संशोधनको पक्षमा छ, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति राम्रो हुन्छः नारायणकाजी श्रेष्ठ



काठमाडौं, २९ फागुन । नेकपा (माओवादी केन्द्र) वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो पार्टी अग्रगामी संविधान संशोधनको पक्षमा रहेको बताएका छन् । आज (बिहीबार) प्रेस सेन्टर नेपाल, दोलखा चरिकोटमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आफूहरुले अग्रगामी संविधान संशोधन चाहेको बताएका हुन् ।

‘हाम्रो पार्टीले अहिले भनेको कुरा प्रष्टसँग के छ भने–आजको मुख्य आवश्यकता चाहीँ अहिलेसम्म प्राप्त भएको लोकतान्त्रिक उपलब्धीको रक्षा हो । तर, त्यसको अर्थ चाहीँ यथास्थितिमा देशलाई नराखेर अग्रगामी दिशातिर देशलाई लौजानको निम्ति संविधान संशोधन गर्न पर्छ । गर्दाखेरी हामी चाहीँ तयार छौं भन्ने कुरामा हामी प्रष्ट छौं । हामीले के भनेको भने संविधान संशोधन प्रश्चगामी ढंगले हुन हुँदैन । संविधान संशोधन अग्रगामी ढंगले गर्ने । नेपालको संविधानले दुई वटा पक्षबाहेक सबैमा संशोधन गर्न सकिने छ भनेको छ । यसको मर्मलाई आत्मसाथ गर्दै हामी अग्रागामी ढंगले संविधान संशोधन गर्न चाहन्छौं,’– उनले भने ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, सांसदबाहिरबाट मन्त्रिपरिषद् र पूर्ण समानुपातिक निर्वाचन प्रणाली आफूहरुको एजेण्डा रहेको बताए । उनले भने, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, त्यो चाहीँ प्रत्यक्ष निर्वाचित राष्ट्रपति नै राम्रो हुन्छ भन्ने छ हाम्रो । तर, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख नै हुनुपर्छ । अर्को चाहीँ निर्वाचन प्रणालीमा अहिले जुन प्रकारको भ्रष्टीकरण देखा परेको छ । त्यसकारण पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं ।’ File Photo/RN



प्रतिक्रिया दिनुहोस्