Logo

दरखोलामा मुना र दर गाउँ जोड्ने झोलुङ्गे पुल निर्माण



काठमाडौं, २९ फागुन । म्याग्दीको धवलागिरी गाउँपालिका–३ स्थित दरखोलामा तीन सय ५५ मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु भएको छ । मुना र दर गाउँ जोड्ने झोलुङ्गे पुल निर्माणका लागि गत जेठ महिनामा दुई करोड ३१ लख ३६ हजार सात सय ५० मा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले मुनातर्फको जिप निर्माण सकेको र दरतर्फ अन्तिम चरणमा पुर्याएको छ ।

पचास प्रतिशत निर्माण सकिएको यो पुलबाट धवलागिरी ३ र ४ मा पर्ने एक हजार दुई सय घरपरिवारका साथै धौलागिरी चक्रीय पदमार्गमा जाने पर्यटकहरु लाभान्वित हुने धवलागिरी–३ का वडा अध्यक्ष देवेन्द्र रोकाले बताए ।

दर, मुदी, खिवाङ, नेरवाङ, बगर, नाउराका बासिन्दालाई गाउँपालिकाको केन्द्र मुना आउन जान तीस मिनेट घुमाउरो र उकालो बाटो पाँच मिनेटमा छोटिने उनले बताए । यसैगरी दर गाउँका विद्यार्थीहरुलाई मुनाको धवलागिरि र फलीयागाउँको धनजनता माविमा आउन जान पनि सहज हुने भएको छ ।

विसं२०८२ को मंसिर महिनासम्मको म्याद भएपनि यसै आर्थिक वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने तयारीका साथ काम भइरहेको निर्माण कम्पनीका सञ्चालक प्रदीप सापकोटाले बताए ।File Photo/RN



प्रतिक्रिया दिनुहोस्