Logo

स्ववियु निर्वाचनः उम्मेदवारहरु कसको एजेण्डा के ? (भिडिओसहित)



काठमाडौं, २ चैत । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आसन्न निर्वाचनलाई लिएर रिपोर्टर्स क्लब नेपालले विभिन्न विद्यार्थी संगठनका नेताहरुसँग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा सहभागी विद्यार्थी नेताहरुले विश्वविद्यालय सुधार, विद्यार्थीका माग र मुद्दाहरु आफ्नो चुनावी एजेण्डाको रुपमा प्रस्तुत गरेका छन् ।

अखिल (क्रान्तिकारी) का नेता, नेपाल ल क्याम्पसका स्ववियु सभापति विष्णु ढुङ्गेलले विगतमा स्ववियु निर्वाचन नहुनुको परिणामस्वरुप आज संसद्का दलाल र व्यापारीहरुको संख्या बढेको बताए । स्ववियु निर्वाचनको संघारमा अहिले केही राजनीतिक दलका भातृ संगठनहरुले क्याम्पस–क्याम्पसमा अराजकता देखाइरहेको बताए । वर्तमान समय दादागिरीको समय नभएर नेगोशेसन र डिजिटालाइजेसनको समय रहेको बुझ्न आवश्यक रहेको उनले बताए । विश्वविद्यालयको ढोका ताल्चा झुण्डिनु राम्रो संकेत नहुने उनको भनाइ छ । विद्यार्थीको चुनावलाई विद्यार्थीकै हातमा छोड्दिनुपर्ने उनको धारणा छ ।

स्ववियु निर्वाचनमा विद्यार्थीको नाममा दुई दिन क्याम्पसमा देखा परेकाहरुलाई जिताउन नहुने उनले बताए । साथै, स्ववियु निर्वाचन प्रभावित भएका क्याम्पसहरुका लागि अर्को कार्यतालिका प्रकाशन गरी समयमै निर्वाचनको सुनिश्चितता गर्न उनले विश्वविद्यालयसँग माग गरे । विद्यार्थी नेता ढुङ्गेलले भने, ‘विद्यार्थीको चुनावलाई विद्यार्थीकै हातमा छोडिदिनुस् । क्याम्पसको आवश्यकता र त्यहाँको अवस्था हेरेर उहाँहरुले निर्वाचन प्रक्रिया अगाडि बढाउनु हुनेछ ।’

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूबाट बानेश्वर बहुमुखी क्याम्पस स्ववियु सभापतिकी उम्मेदवार प्रमिला लामाले विद्यार्थीहरुलाई सेवा गर्ने मौका गुमाउन हुँदैन भनेर आफूले उम्मेदवारी दिएको बताईन् । विगतमा पनि आफूले विद्यार्थीको हक र हितको पक्षमा आवाज उठाइरहेको बताउँदै उनले आगामी दिनमा अझै राम्रो काम गरेर क्याम्पसको शैक्षिक वातावरणलाई राम्रो बनाउन आफूलाई जिताउन उनले आग्रह गरिन् ।

अखिल (क्रान्तिकारी) विश्वविद्यालय क्याम्पस टियूका स्ववियु सभापतिका उम्मेदवार प्रविन दाहालले आफू विद्यार्थीको एजेण्डामा विगतदेखि नै परिचित रहेको बताए । समाजवाद उन्मुख राष्ट्रमा समाजवादी शिक्षा हुनुपर्ने आफ्नो एजेण्डा रहेको उनले सुनाए । डिजिटल टीयू, स्मार्ट डे, लर्निङ एण्ड अर्निङ प्रोगामलगायत आफ्नो चुनावी एजेण्डा रहेको बताए ।

त्यसैगरी, एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियू, पुल्चोक क्याम्पसबाट स्ववियु सभापतिका उम्मेदवार आयुष सापकोटाले आफू अध्ययन गर्ने कलेजमा प्राध्यापकहरुकै गुण्डागर्दी रहेको बताए । प्राध्यापकहरु क्लासमा पढाउन नआउने र अहिलेसम्म कुनै पनि स्ववियु सभापतिले यसबारेमा आवाज नउठाएको उनकाले आरोप छ । आफ्नो सबैभन्दा पहिलो एजेण्डा शैक्षिक सुधार नै रहेको उनले बताए ।

अनेरास्ववियू सरस्वती बहुमुखी क्याम्पसबा स्ववियु सभापतिका उम्मेदवार हर्कबहादुर तामाङले अहिले सो क्याम्पसमा करिब ८ हजार विद्यार्थी अध्ययनरत रहेको बताए । तर, सो क्याम्पसमा २०७२ सालको भूकम्पले भत्किएको भवन अहिलेसम्म निर्माण नभएको, रातो स्टिकर टाँसिएको भवनमा पढाइ भइरहेको उनले बताए । आफू र आफ्नो टिम स्ववियू सभापतिमा निर्वाचित भएको खण्डमा भौतिक संरचना निर्माणका लागि पहल गर्ने, दवाब दिने र लाइब्रेरी, प्रयोगशाला, ल्याबहरुलाई व्यवस्थित बनाउन पहल गर्ने उनले बताए ।

नेपाल विद्यार्थी संघ, पद्मकन्या बहुमुखी क्याम्पसबाट स्ववियु सभापतिकी उम्मेदवार भूपि ऐरले क्याम्पसलाई अझ विद्यार्थीमैत्री बनाउने आफ्नो एजेण्डा रहेको बताईन् । विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि आफ्नो एजेण्डाहरु महत्वपूर्ण रहेको बताईन् । उनले कलेजमा नेतृत्वको कमी रहेको, कम्युनिकेशन सेन्टर नरहेको बताईन् । यी कुराहरु सुधारको पहल गरिने उनले बताईन् । नेतृ ऐरले शिक्षा, स्वास्थ्य, होस्टेललाई गुणस्तरीय र सर्वसुलभ बनाउने आफ्नो एजेण्डा रहेको बताईन् ।

अखिल (क्रान्तिकारी) जनप्रशासन क्याम्पसबाट स्ववियु सभापतिका उम्मेदवार अनिकेत तिवारीले आफ्नो चुनावी एजेण्डा शैक्षिक सुधार नै रहेको बताए । क्याम्पस प्रशासनले थेशिसको बेलामा विद्यार्थीहरुलाई धेरै दुःख दिइरहेको उनले बताए । आफू स्ववियू सभापतिमा निर्वाचित भएको खण्डमा थेशिसमा अहिले रहेको समस्या समाधानको लागि पहल गर्ने बताए । जनप्रशासन क्याम्पसमा आफूले पोलिसी ल्याब बनाउन चाहेको पनि उनले सुनाए ।

नेपाल कमर्श क्याम्पस, अखिल (क्रान्तिकारी) बाट स्ववियु सभापतिका उम्मेदवार काशीराम जैशीले पुस्तकविनाको लाइबे्ररीको ¥याक, पानीविनाको शौचालय, राजनीति गरिरहेका प्राध्यापक आफ्नो क्याम्पसको मूल समस्या रहेको बताए । उनले आफूले देखेका यी समस्या समाधान र क्याम्पसलाई उत्कृष्ट बनाउन उम्मेदवार बनेको बताए । उजाड क्याम्पसलाई देशकै उत्कृष्ट बनाउने जिम्मा आफ्नो काँधमा छाडिदिन उनले आग्रह गरे ।

अखिल (क्रान्तिकारी), बानेश्वर बहुमुखी क्याम्पसबाट स्ववियू सभापतिका उम्मेदवार भूमिराज अधिकारीले विद्यार्थीहरुका विविध समस्या समाधानको एजेण्डा बोकेर आफू चुनावी मैदानमा होमिएको बताए । उनले विगतमा पनि आफू र आफ्नो संगठनले बानेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीहरुको समस्या समाधानको लागि आवाज उठाउँदै आएको बताए । अहिले बानेश्वर क्याम्पसमा विभिन्न प्रकारका विकृति रहेको र त्यसलाई उजागर गर्दै समस्या समाधानको पहल गरिने उनले बताए । डिजिटल कक्षा, सर्वसुलभ शिक्षा, गुणस्तरीय शिक्षा, खानेपानीको समस्या समाधानलगायतका एजेण्डा आफूहरुले जोडदार रुपमा उठाउँदै आएको उनले बताए ।

अखिल (क्रान्तिकारी), रत्नराज्य लक्ष्मी क्याम्पसबाट स्ववियु सभापतिका उम्मेदवार संगमकुमार लामाले पहिचानसहितको विश्वविद्यालय आफ्नो सबैभन्दा पहिलो एजेण्डा रहेको बताए । समावेशिता र समान अवसर, इन्टर्नसीप, अपाङ्गमैत्री भौतिक संरचना, वित्तीय पारदर्शिता, पर्यावरण सचेतना, हरित क्याम्पस, मानसिक स्वास्थ्य परामर्शलगायतका आफ्नो चुनावी एजेण्डा रहेको बताए । उनले यस पटक डर र करले भन्दा पनि रहरले मतदान गर्न विद्यार्थीहरुलाई आग्रह गरे । आफूले स्ववियु निर्वाचनलाई आरआर क्याम्पस सुधारको महाअभियानको रुपमा लिएको पनि बताए ।

अनेरास्ववियु, जनप्रशासन क्याम्पसबाट स्ववियु सभापतिका उम्मेदवार अग्रबहादुर शाहीले आफूले विगतदेखि नै क्याम्पसमा विद्यार्थीहरुको हक हितका लागि निरन्तर बोल्दै आएको बताए । विश्वविद्यालयलाई डिजिटालाइजेनको युगमा अगाडि सार्नुपर्छ भन्ने एजेण्डा लिएर स्ववियु निर्वाचनमा होमिएको बताए । उनले विद्यार्थीको हक, हित र आवाजको उचित प्रतिनिधित्व गर्न आफू सभापतिको उम्मेदवार बनेको बताए । उनले अबको विद्यार्थी राजनीतिलाई गुण्डागर्दी, होहल्ला र अराजकताबाट माथि उठाएर वैचारिक रुपमा अगाडि बढउनुपर्ने जिम्मेवारी आफ्नो काँधमा दिन आग्रह गरे ।

नेपाल विद्यार्थी संघ, त्रिवि केन्द्रीय क्याम्पसबाट स्ववियु सभापतिका उम्मेदवार दीपकराज जोशीले आफ्नो सबैभन्दा महत्वपूर्ण चुनावी एजेण्डा रूपान्तरणसहितको गुणस्तरीय शिक्षा रहेको बताए । समयसापेक्षा पाठ्यक्रम र गुणस्तरीय शिक्षामा आफ्नो विशेष पहलकदमी हुने उनले बताए । साथै, आफू स्ववियु सभापतिमा निर्वाचित भएको खण्डमा रिसर्चको लागि अनुदान र पारिश्रमिकसहितको इन्टर्नसीप र विद्यार्थीमैत्री भौतिक संरचनाको निर्माण आफ्ना चुनावी एजेण्डा रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्