
काठमाडौं, २ चैत । नेकपा (माओवादी केन्द्र) सहित चार दल आवद्ध समाजवादी मोर्चाले राज्यसत्ताको बागडोर समालेकाहरूको अलोकतान्त्रिक रवैया र गतिविधीका कारण नेपाली जनताको एकपछि अर्को अधिकारहरू कुण्ठित हुँदै गइरहेको निष्कर्ष निकालेको छ । आज (शनिबार) पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गर्र्दै मोर्चाले राज्य सञ्चालकको स्वच्छाचारिताका कारण देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको बताएको हो । भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र सङ्कटग्रस्त रहेको, जनताको जनजीविका कहाली लाग्दो अवस्थामा रहेको र सरकारभने विचौलिया दलालहरूको स्वार्थसिद्धिमा केन्द्रीत रहेको मोर्चाको निष्कर्ष छ ।
अध्यादेश मार्फत सरकार चलाउने, सदनलाई छल्ने, र संसदमा दर्ता भएका महत्पूर्ण विद्येयकहरु नियन्त्रण गरी राख्नेमा सरकार उद्दत रहेको, सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टी र आक्रोश तीब्ररुपमा बढ्दै गएको मोर्चाले बताएको छ । सरकारको यस्तो प्रकारको रवैयाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र नेपाली जनताको समाजवादको यात्रामा गम्भीर चुनौति देखा परेको मोर्चाले बताएको छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहीनता, सरकारको मानोमानी, देश एवम् जनताको हितविपरीतका गलत क्रियाकलापका कारण जनतामा असन्तुष्टि पैदा हुँदा राजतन्त्र पुर्नस्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुर्नउत्थानवादी तत्वहरू लागिपरेको मोर्चाको निष्कर्ष छ । मोर्चाले गणतन्त्रका विरुद्ध राजतन्त्र पुर्नस्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुर्नउत्थानवादी तत्वहरू लागिपरेको यसको सशक्त प्रतिवाद गर्नु, गणतन्त्रको रक्षा गर्नु र नेपाली विशेषताको समाजवादको दिशामा अगाडि बढ्नु बर्तमान राष्ट्रिय राजनीतिको मुख्य कार्यभार रहेको बताएको छ ।
षड्यन्त्रका विरुद्ध एकता, सहकार्य र संयुक्त विरोध आन्दोलनको नेतृत्व गर्नु अहिलेको वस्तुस्थितिको अहम् जिम्मेवारी बन्न गएको निष्कर्षसहित मोर्चाले चैत १५ गते काठमाडौंमा विशाल विरोध प्रर्दशनसहितको जनसभा आयोजना गरेको छ । उक्त विरोध प्रर्दशनसहितको जनसभा सहभागी भएर प्रतिगमन र प्रतिक्रियावादीहरुको षडयन्त्रलाई विफल पार्न अपिल गरिएको छ ।