Logo

राजावादीहरुको गतिविधि चर्चा गर्नुको कुनै औचित्य छैनः उपप्रधानमन्त्री सिंह



काठमाडौं, २ चैत । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशलाई सङ्कटबाट जोगाउन नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गठबन्धन सरकार निर्माण गरेका स्पष्ट गर्दै त्यो तत्कालीन परिस्थितिको उपज भएको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले आयोजना गरेको पत्रकार भेटमा उनले आर्थिक उन्नयनलगायत राष्ट्र निर्माणका गतिविधि शून्यप्रायः भएपछि गठबन्धन सरकार बनेको सुनाए । उनले त्यो परिस्थितिको उपज रहेको पनि बताए ।

देश सङ्कटोन्मुख हुँदा सधैं नेपाली कांग्रेसले अग्रपङ्तिमा रहेर काम गरेकोे उल्लेख गर्दै उनले सङ्कटबाट देशलाई जोगाउन एमालेसँग गठबन्धन गर्नुपरेको बताए । जनताले परिणामको अपेक्षा गरिरहेकाले सोहीअनुसार हुनुपर्नेमा उनले जोड दिए । उनले कम बोल्ने र अधिक काम गर्ने समय भएको बताए ।

फरक प्रसङ्गमा उपप्रधानमन्त्री सिंहले पूर्वविशिष्टलाई सुविधा थप्ने सरकारको कुनै तयारी नरहेको बताए । राजावादीका गतिविधि बढे पनि राजतन्त्रका बारेमा कुरा गर्नुको कुनै औचित्य नभएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ बनाउन सबै राजनीतिक दलहरूबीच एकता हुनुपर्नेमा उनको जोड थियो ।



प्रतिक्रिया दिनुहोस्