Logo

सरकारले विकास र समृद्धिका योजनाहरु अगाडि बढाउन सकेको छैन, जुन स्पिडमा काम गर्नुपर्ने हो त्यो नगरेको सत्य होः कांग्रेस नेता खतिवडा (भिडिओसहित)



काठमाडौं, ३ चैत । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले दुई ठूला राजनीतिक दल मिलेर बनेको सरकारले विकास र समृद्धिका योजनालाई अगाडि बढाउन नसकेको टिप्पणी गरेका छन् । आज (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राजनीतिक स्थिरता भएपनि कांग्रेस–एमालेसहितको सरकारले विकास र समृद्धिका काम अगाडि बढाउने कुरामा दोषमुक्त तवरले अगाडि बढ्न नसकेको बताएका हुन् ।

‘कांग्रेस र एमाले दुईवटा पार्टी मिलेपछि राजनीतिक स्थिरता चाहीँ भएको छ । तर, विकास र समृद्धिका योजनाहरु अगाडि बढ्न सकेका छैनन् । यसमा अहिलेको सरकारमात्रै दोषी छैन । हिजोदेखि हुँदै आएका काम, क्रियाकलापबाट पनि हामी दोषमुक्त छैनौं । जुन स्पिडमा सरकारले काम गर्नुपर्ने हो, त्यो नगरेको सत्य हो । यसमा विवाद नै छैन,’– उनले भने ।

नेता खतिवडाले पूर्वविशिष्टहरुलाई आजीवन सेवा सुविधा दिनेगरी ल्याउन लागेको अध्यादेशको विरोध गरे । ‘यो गलत हो । यसलाई तुरुन्त रोक्नुपर्छ । हामीले एउटा मिटिङ गराएर यो भन्दा अगाडि नै छलफल गराइसकेका छौं । सरकारले जथाभावी यो सुविधा दिने, कसलाई कति दिएको छ । सार्वजनिक गर्नुपर्छ । राज्यबाट सुविधा लिने प्रवृत्ति अन्त्य गर्नुपर्छ । आजीवन होईन, मृत्यपर्यान्त किरिया खर्चको पनि सुविधा दिने यो प्रवृत्ति आपत्तिजनक छ । यो सह्य हुँदैन,’– नेता खतिवडाले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्