
काठमाडौं, ४ चैत । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि कांग्रेस–एमालेलगायतका दलहरुसँग सहकार्य गरिने बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन् । प्रतिनिधि सभा सदस्यसमेत रहेका पौडेलले माओवादीले अहिले सशक्त रुपमा सरकारको कमीकमजोरी र गतिविधिको आलोना गरिरहेको बताए । आलोचनाको बावजुद पनि गणतन्त्रको पक्षमा आफूहरु मिलेर अगाडि बढ्ने उनको भनाइ छ ।
‘हामीले अहिले यो सरकारले दिन नसकेको डेलिभरी र गतिविधिको सशक्त आलोचना गरेका छौं । तर, गणतन्त्रको पक्षमा उहाँहरुसँग मिल्छौं । राजसंस्था आउँदै आउँदैन, हुँदै हुँदैन । सम्भव नै छैन त्यो । तै पनि कसैले कोशिस गरे भनेदेखि हामी गणतन्त्रवादी एक ठाउँमा हुन्छौं,’– उनले भने ।
पूर्वराजाले देश बर्वाद भयो, आफूले शासन सत्ता सञ्चालन गर्न पाए भयांकर कायापलट गर्छु भनेजस्तो वक्तव्य दिएको नेता पौडेलको टिप्पणी छ । वक्तव्यकै कारणले देशको राजनीति तरङ्गित बनेको र यस्ता गतिविधि बढ्दै गए गणतन्त्रको रक्षाका लागि राष्ट्रिय सहमतिको सरकार बनाएर दलहरु अगाडि बढ्ने उनले बताए ।
देशमा रोजगारी भएन, वदेशमा नागरिकहरु गए, विकास निर्माणका काम ढिला भयो भन्ने कुरामा आफूहरु सहमत रहेको र राजनीतिक दल सच्चिनुपर्छ भन्नेमा पनि दृढ रहेको उनले सुनाए । File Photo/RN