
काठमाडौं, ४ चैत । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) को ऋणमा कार्यान्वयन हुन नसक्ने बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपाल सरकारले चिनियाँ सरकारलाई बीआरआई परियोजना ऋणमा लिन सकिँदैन, अनुदान कार्यान्वयन गरिदिनुस् भनेर आग्रह गरेको बताए । सरकार त्यही नीतिमा अडिग हुनुपर्ने उनको भनाइ छ ।
नेता महतले बीआरआई कार्यान्वयन भइनसकेको र चिनियाँ सरकारले नेपाललाई दिने भनेको कतिपय अनुदान सहयोग नै कार्यान्वयन नभएको उनले बताए । ‘बीआरआई कार्यान्वनको लागि प्रारम्भिक समझदारी भएको छ । केही आयोजनाहरुको सूची पनि प्रकाशित भएको छ । तर, त्यो आयोजना प्रक्रिया अगाडि बढेको छैन । हामीले अहिले अनुदान सहयोगमात्रै लिन सक्ने अवस्था छ । दुई पक्षीय ऋणहरु कुनै पनि देशबाट अहिले हाम्रो लिने अवस्था छैन । ऋणको भार बढेको छ । हामीले लिएको ऋणहरु ठीक ढंगले लिएनौं । एडीबीकै ऋण कार्यान्वयन गर्न सकेका छैनौं । अहिले हामी ऋण लिँदैनौं भन्ने नै हाम्रो नीति हो,’– उनले भने ।
साथै, उनले वर्तमान सरकारले काम गर्न नसकेको बताए । उनले वर्तमान सरकारले गरेको भन्दा धेरै काम गर्न सकिने अवस्था रहेको पनि सुनाए । ‘हाम्रो देशको समस्या र आवश्यकताहरु यति धेरै छन् । सरकारले हुनेसम्म र गर्नसक्नेसम्म काम गर्यो भने पनि यहाँ सन्तुष्टि हुँदैन । किनकी आवश्यकता, महत्वकांक्षा र समस्याहरु धेरै छन् । त्यसो हुनाले सन्तुष्टै सन्तुष्ट हुन्छ भन्ने त अवस्था देख्दिनँ । तर, यो भन्दा राम्रो गर्न सकिन्छ,’– नेता महतले भने । File Photo/RN