
काठमाडौं, ४ चैत । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहले ताली खाँदै र ताली दिँदै हिँड्ने कार्य स्वभनीय नरहेको बताएका छन् । आज (सोमबार) राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले जनताले दरबार बाहिर पठाइसकेको पूर्वराजाले राज्यले दिएको सम्मान ग्रहण गरेर बस्न सक्नुपर्ने बताए । होइन भने पूर्वराजा ज्ञानेन्द्रले ‘म राजनीतिक खेलाडीको रुपमा मैदानमा आएँ’ भनेर जनतालाई भन्न सक्नुपर्ने उनको भनाइ छ ।
राजा आउँछ रे भन्ने सन्देश दिएर सर्वसाधारण जनतालाई भड्काउने काम भइरहेको उनले बताए । जनता भड्काउने यस्ता प्रकारका कार्यमा परिवर्तनकारी राजनीतिक दलहरु दृढतापूर्वक उभिन नसकेको आफूले अनुभूति गरेको पनि उनले बताए । प्रधानमन्त्रीको प्रतिनिधिको रुपमा आफैं गएर तत्कालीन समयमा ज्ञानेन्द्रसँग एक घण्टा कुरा गरेर विदाइ गरेको पनि उनले स्मरण गराए ।
‘नयाँ संविधान जारी भएको यतिका वर्षसम्म आइपुगेपछि अहिले आएर, हामीले एकदम वार्ता गरेर, म आफैं प्रधानमन्त्रीको प्रतिनिधिको रुपमा गएर तत्कालीन राजा ज्ञानेन्द्रसँग लामै संवाद गरेको । करिब १ घण्टा । उहाँलाई बडो सम्मानका साथ निवास पनि प्रबन्ध गरेर पठायौं । सुरक्षाको पनि प्रबन्ध हुन्छ भनेर हामीले भनेकै हो । त्यसबेलाको मन्त्रिपरिषद्को निर्णयबाट । तर, अहिले आएर मै केही गर्छु, भनेर गाडीमा उभिएर ताली खाँदै र ताली दिँदै हिँड्नु स्वभनीय विषय भएन ।’ उनले भने, ‘हामीले बाहिर पठाएको पूर्वराजालाई सम्मान दिएका छौं । त्यो सम्मानलाई उहाँले ग्रहण गरिराख्नु उचित हुन्छ । होइन भनेदेखि उहाँले जनतासामु उहाँले भन्न सक्नुपर्छ– म अब राजनीतिक खेलाडीको रुपमा मैदानमा आएँ भनेर भन्न सक्नुपर्छ । उहाँले मेरो नीति, कार्यक्रम यो हो भनेर दलहरुजस्तै प्रस्तुत हुन सक्नुपर्छ ।’