
काठमाडौं, ४ चैत । प्राइम टाइम्स टेलिभिजनका पत्रकार ऋषि थपलिया युवा पत्रकारिता पुरस्कार–२०८१ बाट सम्मानित भएका छन् । पाँचौँ एपिक अवार्डको अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यको हातबाट थपलिया सम्मानित भएका हुन् । थपलिया प्राइम टिभीबाट प्रसारण हुने लोकप्रिय कार्यक्रम ‘जनता जान्न चाहन्छन्’को प्रोड्युसर/डाइरेक्टर हुन् । वरिष्ठ पत्रकार ऋषि धमलाले सञ्चालन गर्ने उक्त कार्यक्रमको प्रोड्युसर थपलिया विगत एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।
थपलियाले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदान अतुलनीय रहेको भन्दै सम्मान गरिएको आयोजकले जनाएको छ । ‘तपाईंले राजनीतिक, सामाजिक, आर्थिक र समसामयिक विषयमा कलम चलाएर समाजलाई सूचनाको माध्यमबाट दिशानिर्देश गराउँदै आउनुभएको छ । टेलिभिजन कार्यक्रम प्रस्तोताका रुपमा पनि विभिन्न कार्यक्रम सञ्चालन गरेर आम दर्शकरश्रोताबीच लोकप्रिय हुनुहुन्छ,’–सम्मान पत्रमा भनिएको छ ।
थपलियाले यसअघि हिमालय टेलिभिजन, नेपाल आवाज म्यागजिन, एशिया सञ्चार, सूत्र न्यूज, क्यानडा नेपाल, नेपाली पत्रिका, नेपाली पब्लिकलगायत विभिन्न सञ्चार माध्यममा काम गरिसकेका छन् । त्यसो त लाइभ रिपोर्टिङ, कार्यक्रम सञ्चालन, कार्यक्रम निर्माण/निर्देशन र अन्तर्वार्ता मार्फत समाजमा चेतना फैलाउन थपलिया अब्बल छन् । भक्तपुरको मध्यपुर थिमि नगरपालिकास्थित निगुपुखुमा विशेष कार्यक्रम आयोजना गरी एपिक नेपाल म्युजिक प्रालिले पाँचौँ एपिक अवार्ड–२०८१ को अवसरमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान गरेको छ ।
