
काठमाडौं, ४ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस–एमालेसहितको सरकारमा सहभागी हुने आफूहरुको कुनै चाहना र तयारी नरहेको बताएका छन् । आज (सोमबार) राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारमा सामेल हुने आफूहरुको नीति नरहेको बताएका हुन् । उनले मुलुकमा कुनै सङ्कट आएको खण्डमा समाधानको विचार दिन भने आफूहरु तयार रहेको बताए ।
‘हामीलाई अहिले सरकार बनाउनेतिर लाग्यो भनेर आजभोलि आइरहेको छ । कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउने भएरे भनेर सोसियल मिडियामा, मानिसहरुले फोन गरेर मलाई साथीहरुले भननु भएको छ । म यही मञ्चबाट भन्छु– हामीले सरकारमा जाने कुनै नीति लिएका छैनौं, लिँदैनौं पनि । मुलुकमा सङ्कट आयो भने सङ्कट कसरी समाधान गर्ने भन्ने हाम्रो विचार त हामी दिन्छौं । तर, यही सरकारमा सामेल हुने हाम्रो कुनै नीति छैन ।
प्रचण्डले सरकारमा सहभागी हुनेबारे कसैसँग औपचारिक संवादसमेत नभएको बताए । उनले अन्य विषयमा शीर्ष नेताहरुसँग भने भेट हुने गरेको बताए । कांग्रेस–एमालेले भ्रष्टाचारीलाई बचाउने उद्देश्यले सरकार बनाएको बताउँदै उनले यो सरकारप्रति सुरुदेखि नै विमति रहेको सुनाए ।
‘त्यस्तो कसैसँग औपचारिक कुरा भएको हो कि भन्ने भएको छ, कुरा पनि कसैसँग भएको छैन । अन्य–अन्य विषयमा कुरा त हुन्छ । जस्तै, टीआरसीजस्ता विषयमा कुरा त गर्नुनै पर्छ । मैले गरिनै राखेको छु । तर, सरकार बनाउने बारेमा यो पटक हामी विल्कुल छैनौं । फेरि हामीले राम्रो गर्न खोज्दाखोज्दै, हामीले भ्रष्टाचारको विरुद्ध अभियान अगाडि बढाउँदा बढाउँदै हामीले सामाजिक न्यायको पक्षमा राम्रा सुरुवात गर्दागर्दै, हामीले आर्थिक सङ्कटबाट देशलाई बचाउन अगाडि बढ्दाबढ्दै भ्रष्टाचारीलाई बचाउने उद्देश्यले बनेको सरकार भएको हुनाले यो सरकारप्रति हाम्रो सुरुमा नै ठूलो विमति भएको छ,’– उनले भने ।