
काठमाडौं, ४ चैत । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालअन्तर्गत महाराजगन्ज नर्सिङ क्याम्पसकी क्याम्पस प्रमुख मुना राना थापाले नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरुले आफूमाथि लगाएको सबै आरोप भ्रामक, कपोलकल्पित र पूर्वाग्रहपूर्ण रहेको बताएकी छन् ।
क्याम्पस प्रमुख थापाले आफूमाथि लगाइएका आरोप पुष्टि गर्नसमेत चुनौति दिएकी छन् । अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरुले क्याम्पस प्रमुख थापामाथि राजनीतिक आस्थाका आधारमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव प्रभावित पार्न खोजेको, भर्ना प्रक्रियामा विभेद गरेको, क्याम्पसको सम्पत्ति दुरुपयोग गरेको जस्ता आरोप लगाएका थिए ।
अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरुले लगाएको सबै आरोपको खण्डण गर्दै क्याम्पस प्रमुख थापाले भनिन्, ‘म माथि भ्रामक, कपोलकल्पित र पूर्वाग्रही भएर आरोप लगाइएको हो । म उहाँहरुलाई यी अराोप पुष्टि गर्न पनि चुनौति दिन्छु् । विगतका निर्वाचनमा पनि अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरुले चुनाव जित्न यस्तै प्रकारको प्रपञ्च रच्ने गरेका थिए । अहिले पनि त्यसैको पुनरावृत्ति हो । यसपाली पनि उनीहरुले चुनाव जित्न ममाथि आरोप लगाएका हुन् ।’
साथै, उनले आफूले क्याम्पस प्रमुखको भूमिका निष्पक्ष रुपमा निर्वाह गरिरहेको समेत दाबी गरिन् । आफू सदैव निष्पक्ष र पारदर्शी निर्वाचनको पक्षमा रहेको पनि उनको भनाइ थियो ।
महाराजगन्ज नर्सिङ क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचन हुने कार्यतालिका रहेको छ । सो क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट विन्दु पोखरेल र अनेरास्ववियुबाट मनकुमारी बुढाको टिम प्रतिस्पर्धामा रहेको छ ।