Logo

स्ववियु निर्वाचनबारे नेविसंघको आह्वानः ‘तालाबन्दी होइन, संवादमार्फत समाधान खोजौं’



काठमाडौं, ५ चैत । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन–२०८१ का क्रममा विभिन्न क्याम्पसहरूमा तालाबन्दी हुदा निर्वाचन प्रक्रिया अवरुद्ध भएकोप्रति गम्भीर ध्यानाकार्षण भएको बताएको छ । नेविसंघले निर्वाचन प्रक्रियाका दौरान सृजना भएका समस्यालाई स्वाभाविक रुपमा ग्रहण गर्दै उचित समाधानसहित मतदानको सुनिश्चितता गर्न माग गरेको छ ।

निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेका बेला विभिन्न संघ÷संगठन, समूह र स्वतन्त्र उम्मेदवारहरुद्वारा गरिएका तालाबन्दी तोडेर जुनसुकै बहानामा गरिएको भएतापनि निर्वाचनको वातावरण सहज बनाउन र संवादमार्फत समस्या सुल्झाउन नेविसंघले आह्वान गरेको छ ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले स्ववियु निर्वाचनलाई भयमुक्त, शान्तिपूर्ण, निष्पक्ष, र लोकतान्त्रिक ढंगले सम्पन्न गराउनका लागि सबै सरोकारवालाहरूले आरोप–प्रत्यारोप नगरी भएका कमजोरीलाई आत्मसाथ गर्दै संयमित हुन आग्रह गरेका छन् । साथै, स्ववियु निर्वाचनलाई निष्पक्ष, लोकतान्त्रिक र निर्वाध रूपमा सम्पन्न गराउने प्रयासमा नेविसंघ बाधक नरहेको पनि उनले बताएका छन् । विद्यार्थी आन्दोलनको मर्म र हितमाथि नै आशंका, आक्रोश र अनर्गल प्रश्न पैदा हुने गतिविधि नगर्नसमेत उनले सबै विद्यार्थी संघ÷ संगठनलाई आग्रह गरेका छन् । अध्यक्ष शेर्पाले विभिन्न समस्याका कारण रोकिएको स्ववियू निर्वाचन १५ दिनभित्र मिति तोकेर सुचारु गर्न माग गरेका छन् ।

‘अतः स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुनिश्चितता लागि त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनसम्बन्धि निर्देशिका, २०८१ को दफा १२ (८) बमोजिम चैत्र २० अर्थात १५ दिनभित्र मिति तोकेर रोकिएको चरणवाट निर्वाचन प्रक्रिया सुचारु गर्न नेपाल विद्यार्थी संघ दृढतापूर्वक अघि बढ्न प्रतिबद्धत रहेको जानकारी गराउन चाहान्छौं,’– उनले विज्ञप्तिमार्फत भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्