
काठमाडौं, ७ चैत । काठमाण्डू लिजेंड्सले नेपालको स्विजरल्याण्ड भनेर परिचित जिरी नगरमा जिरी मेनिया–२०२५ नामक बृहत कार्यक्रम आयोजना गरेको छ । काठमाण्डू लिजेंड्सका अध्यक्ष रमेश अवालेका अनुसार आगामी चैत्र १५ देखि १७ गतेसम्म कार्यक्रम आयोजना गरिएको छ ।
सो कार्यक्रममा नेपालका विभिन्न जिल्लाहरु, मित्र राष्ट्र भारतका विभिन्न प्रान्तहरु, दक्षिण अफ्रिका, अमेरिका, फ्रान्स आदि देशहरुबाट रोयल एनफिल्ड मोटरसाइकलमा सवार भएर आउने २ सय बढी पर्यटकहरु सम्मिलित हुने बताइएको छ । कार्यक्रममा सहभागीहरुलाई जिरी नगरपालिका, जिरी उद्योग बाणिज्य संघ, जिरी होटेल व्यवसायी संघलगायत अन्य स्थानीय सरोकारवालाहरुले स्वागत गर्ने बताइएको छ ।
कार्यक्रम अवधिमा सहभागीहरु जिरी क्षेत्रका रमणीय पर्यटकीय स्थलहरुको भ्रमण गर्न, र स्थानीय सांस्कृतिक कार्यक्रमहरु, लाइभ ब्याण्ड र डिजेमार्फत चलनचल्तीका प्रख्यात गीत संगीतहरुको मरोरञ्जन लिन, स्थानीय परिकारहरुको स्वाद लिन, कोशेली स्वरुप स्थानीय उत्पादनहरु खरिद गर्न सक्नेछन् ।
न्युनतम दर्ता शुल्क तोकिएको यस कार्यक्रम अवधिभर जिरी शहरमा आयोजना हुने विभिन्न खेल र सांस्कृतिक क्रियाकलापहरुमा स्थानीय बासिन्दा र अन्य पर्यटकहरुलाई निःशुल्क रुपमा प्रवेश दिइने भएकोले हजारौंको संख्यामा स्थानीय बासिन्दा र अन्य पर्यटकहरु पनि संगसंगै मनोरञ्जन लिने छन्।
कार्यक्रमले जिरी भ्रमण वर्ष–२०२५ लाई टेवा पुर्याउनुको साथै जिरीको पर्यटन प्रवर्द्धन हुने, देश बिदेशमा प्रख्यात स्थानीय चीज, बटरलगायतका अन्य कृषीजन्य उपजहरुको प्रचार प्रसार हुने र स्थानीय आर्थिक क्रियाकलापमा पनि सघाउ पुर्याउने आयोजक संस्थाको विश्वास छ । कार्यक्रमका प्रमुख प्रायोजकहरु अल्फा अटोमोटिभ प्रा.लि. र रोयल एनफिल्डलगायत रहेका छन् ।