
काठमाडौं, ७ चैत । नेपाली कांग्रेसका नेता दयाराम पाण्डेले स्वर्गीय गिरिजा प्रसाद कोइरालाले आफूलाई प्रजातन्त्रको सिपाहीको रुपमा चिनाएको बताएका छन् । आजको स्वतन्त्रताको देन नै गिरिजाको रहेको उनले बताए । आज (बिहीबार) गिरीजा प्रसाद कोइरालाको १५औं स्मृति दिवसको अवसरमा रिपोर्टर्स क्लब नेपालमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘गिरिजाबाबुले भन्नुहुन्थ्यो– म प्रजातन्त्रको सिपाही हुँ । म प्रजातन्त्रको भारी बोकिरहन्छु । यो कार्यान्वयनको लागि जस्तोसुकै संघर्ष गर्न पनि तयार छु । यो गिरिजा प्रसाद कोइरालाको भनाइ हो । मैले जानेको गिरिजा प्रसास सही समयमासही व्यक्तिसँग सम्पर्क गर्ने, योजना बनाएर बोल्ने, उहाँ हरेक दिन विहान ७/८ बजे तयारी भएर निस्किनुहुन्थ्यो ।’

नेता पाण्डेले गिरिजाले हरेक पटकको आन्दोलनको नेतृत्व गरेको र कहिलेकाहीँ आफूलाई अरु दलका नेताहरुले खेदिरहँदा माले, मसाले, मण्डले सबै एकै हुन् भन्ने गरेको सुनाए । ‘अहिले हामी गणतन्त्रमा आइपुगेका छौं । उहाँले हरेक पटकको आन्दोलनको अगुवाइ गर्दा आफ्नो कुराहरु राख्नुहुन्थ्यो । सबैले उहाँलाई खेदिरहँदा माले, मसाले, मण्डले सबै एकै हुन् भन्नुहुन्थ्यो । उहाँ सदैव देशको विकासको लागि लागिरहनु भयो । उहाँले एकोहोरो यो देशको निमित्त अनवरत रुपमा लागिरहनु भयो,’– उनले भने ।
गिरीजाले नै भड्किएको माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको उनले बताए । गिरिजालाई सम्झँदै उनले भने, ‘पहिलो जनआन्दोलन, दोस्रो जनआन्दोलनमा उहाँले भन्नुहुन्थ्यो । सदैव राजालाई भन्नुहुनथ्यो– सरकार हजुरले सुनिबक्सियोस् म जे भन्दै छु, त्यो हुँदैछ । हजुरले यसलाई नजर अन्दाज नगर्नुस् । संसद् पुनर्स्थापित गरिबस्कियोस्, कसैका कुरा नसुनिबक्सियोस् । गिरिजा प्रसादले भन्नुहुन्थ्यो । तर, राजाले कहिले पनि त्यतातिर ध्यान दिनुभएन ।’
अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हुनुहुन्छ । उहाँ भाग्यमानी मान्छे पनि हो । म उहाँलाई श्रद्धा गर्न चाहन्छु । तर, जनताका दुःखका कुराहरु, विकास निर्माणका कुराहरुमा जुन हिसाबले लाग्नुपर्थ्यो, त्यो लाग्न सक्नुभएको छैन । यो मैले भन्नुपर्छ, उहाँको कार्यकर्ताको हिसाबले मैले सल्लाह सुझाव पनि दिनुपर्छ । उहाँले गर्न सक्नु भएको छैन ।

त्यस्तै, कांग्रेसका अर्का नेता लोकेश ढकालले गिरिजालाई संघर्षबाट उठेको नेताको रुपमा चित्रण गरे । गिरिजाको कसैले पनि अवमूल्यान नसक्ने र गर्न पनि नहुने उनको भनाइ छ । गिरिजाको पनि बेलावखतमा आलोचना हुनेगरेको उनले सुनाए । ‘उहाँ पनि भगवान त होइन, आलोचनाबाट मुक्त कोही पनि हुन सक्दैन । कसैलाई पनि देवत्वकरण चाहीँ गर्न सकिँदैन ।’