Logo

देशको सबैभन्दा ठूलो समस्या संस्थागत भ्रष्टाचार हो, तर गणतन्त्रको विकल्प राजसंस्था हुन सक्दैनः हृदयेश त्रिपाठी (भिडिओसहित)



काठमाडौं, ९ चैत । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प राजसंस्था हुन नसक्ने बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले अहिलेका नेताहरु भ्रष्ट भएको, देश बनाउन नसकेकको कुरा सत्य रहेपनि एउता विकृतिको अन्त्य गर्न अर्को विकृति (राजसंस्था) अगाडि बढाउन नसकिने बताएका हुन् । उनले अहिले देशमा नेतृत्वको सङ्कट रहेको भने स्वीकार गर्नुपर्ने बताए ।

‘एउटा विकृति अन्त्य गर्न अर्को विकृति अगाडि बढाउन खोजिएको छ । त्यो कुनै सही बाटो होइन । दलका नेताहरु भ्रष्ट भए, देश बनाउन सकेनन् भन्ने कुरामा दुइमत छैनन् । लोकतन्त्रमै यस्ता भ्रष्टाचार उजागर हुन्छ, लोकतन्त्रको अभावमा यस्तो भ्रष्टाचार उजागर पनि हुँदैन,’– उनले भने ।

नेता त्रिपाठीले देशको मूल समस्या भनेको भ्रष्टाचार नै रहेको बताए । राणतन्त्र, राजतन्त्र हुँदै गणतन्त्रसम्म भ्रष्टाचार व्याप्त भएको उनले बताए । ‘यो देशको सबैभन्दा ठूलो समस्या भनेको संस्थागत भ्रष्टाचार नै हो । राणातन्त्रमा थियो, राजतन्त्रमा थियो । गणतन्त्रमा पनि त्यो भ्रष्टाचार संस्थागत रुपले अगाडि बढिरहेको छ । जनता त्यसबाट वाक्कदिक्क भएको अवस्था छ । व्यक्तिहरु फेरिन्छन्, प्रवृत्ति फेरिएको छैन । संघदेखि स्थानीय तहसम्म भष्टाचार छताछुल्ल भएको अवस्था छ । जहाँ जुन गन्तव्य हो, या जे हुनुपर्ने समाधानको बाटो, त्यो कसैले देखाउन सक्ने स्थिति छैन । भावनालाई भड्काएर, भावनामा गएर सबै समाधान यही हो भनेजस्तै अहिले जुन प्रवृत्ति अगाडि बढिरहेको छ,’– उनले भने ।

साथै, अहिले देशमा संघीयता नै नरहेको उनको दाबी छ । विकृत रुप लागू गराएर संघीयताको बदनाम गराउने प्रयास भइरहेको उनको आरोप छ । संघीयतामा देशलाई लानसक्ने नेतृत्वको विकास नै नभएको उनले बताए । संविधानप्रदत्त अधिकार अझै प्रदेशहरुलाई दिन आनाकानी भइरहेको उनले बताए । देश राजनीति अन्यौलताको अवस्थामा रहेको र अर्थतन्त्र पनि बिग्रिएको उनले बताए । राजनीतिक नेताहरुप्रति जनतामा नकारात्मक भाष्य निर्माण भइसकेको उनले बताए । तर, देशमा राजतन्त्र र राजाहरुले समस्याको समाधान दिन नसक्ने उनले बताए । नेपाली कांग्रेस, नेकपा (एमाले) लगातका दलहरुले भ्रष्टाचारजन्य क्रियाकलाप गरेकै कारण देशमा राजतन्त्र आउँछ भनेर कसैले भनेको खण्डमा त्यो भ्रममात्रै हुने बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्