Logo

मेटमणि नेपाली नागरिक भएकोमा झलनाथको शंका, भन्छन्: यति तल्लो स्तरको राष्ट्रघाती र देशद्रोही अभिव्यक्तिको कल्पना गर्न सकिँदैन, कारबाही होस्



काठमाडौं,१ असोज । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले उपमहासचिव मेटमणि चौधरीलाई तत्काल कारबाही गर्न माग गरेका छन्। सांसद चौधरीले राष्ट्रियता विरोधी अभिव्यक्ति दिएको भन्दै पूर्वप्रधानमन्त्री खनालले तत्काल कारबाही गर्न खनालले माग गरेका हुन्।

सोमबार एक विज्ञप्ति जारी गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले चौधरीलाई तत्काल कारबाही गर्न माग गरेका हुन् । ‘यस्ता दूषित तत्वहरुबाट हाम्रो जस्तो क्रान्तिकारी र देशभक्त पार्टीलाई मुक्त बनाउन र पार्टीलाई एउटा स्वच्छ, दृढ, देशभक्त र समाजवादी पाटीको रुपमा स्थापित गर्न म पार्टी नेतृत्वपंक्ति समक्ष जोडदार माग गर्दछु ।’ उनले भनेका छन् ।

चौधरीले प्राइम टाइम टेलिभिजनमा ऋषि धमलासँगको अन्तर्वार्तामा ऐतिहासिक प्रमाणका आधारमा सरासर भारतको प्रमाण पुग्ने भूभागलाई नेपालले दाबी गर्नु मुर्खता मात्र भएको अभिव्यक्ति दिएका थिए । कालापानी, लिम्पियाधुरा, लिपुलेख लगायतका भूभाग समेटेर नेपाल सरकारले चुच्चे नक्सा जारी गर्नु मुर्खता मात्र भएको समेत अभिव्यक्ति दिएपछि चौधरीको आलोचना भइरहेको छ ।

खनालले सांसद चौधरी नेपाली नागरिक भएकोमा शंका व्यक्तसमेत गरेका छन् । उनले मेटमणिले नेपाली नागरिक भएर बोलेको हो कि भारतीय भन्दै प्रश्न गरेका छन् ‘ यो कस्तो विचित्रको अभिव्यक्ति हो ? यो भारतीय नागरिक बोल्दैछ कि नेपाली नागरिक ? यो त स्वरै आना राष्ट्रियता विरोधी अभिव्यक्ति हो । यो देश द्रोही अभिव्यक्ति पनि हो । यो हाम्रो एकीकृत मातृभूमिका विरुद्धको राष्ट्रघाती आवाज पनि हो । हाम्रो पार्टी जस्तो एउटा देशभक्त, समाजवादी र क्रान्तिकारी पार्टीका निम्ति यो त लज्जा र घृणाको विषय पनि हो । यस्तो पार्टीको कुनै नेताबाट मात्र होइन सामान्य कार्यकर्ता साधारण सदस्य तथा समर्थक र सुभेच्छुकहरुबाट पनि त्यस्ता अभिव्यक्ति आउनु असम्भव हुन्छ । आफ्नो मातृभूमिप्रति अलिकति पनि माया र सहानुभूति भएको कुनै सामान्य नागरिकबाट पनि यति तल्लो स्तरको राष्ट्रघाती र देशद्रोही अभिव्यक्तिको कल्पना पनि गर्न सकिन्न । अझ हामै पार्टीको “उपमहासचिव” र वहालवाला “सांसद” बाट यस्ता अभिव्यक्ति आउनु गम्भीर भन्दा गम्भीर अक्षम्य आपत्तिको विषय बनेको छ ’उनले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्