Logo

सहकारी ठगीमा रविको संलग्नता पुष्टि भयो, कडा कारबाही हुन्छः कांग्रेस प्रवक्ता महत (भिडिओसहित)



काठमाडौं, १ असोज । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सहकारी ठगी प्रकरण छानविन गर्न बनेको संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोषी करार गरेको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गोर्खा मिडियामा सहकारीबाट आएको ८५ करोड रुपैयाँमा लामिछानेले मलाई थाहा थिएन भनेर उन्मुक्ति नपाउने बताएका हुन् ।

‘गोर्खा मिडिया प्रा.लि.ले ८५ करोड सहकारीबाट मात्रै लिएको देखियो । जुन कि लिनै पाइँदैन । लिएको कुरालाई मलाई थाहै थिएन भन्न मिल्छ त ? प्रश्न गर्दै उनले भने, ‘उहाँहरु जिम्मेवारीमा रहँदाको हकमा रकम आएको छ । त्यो जिम्मेवारी लिनुपर्छ । मेरो जिम्मेवारी थिएन, मलाई थाहै थिएन, कसले ल्याएछ, त्यत्तिकै हाल्दिएछ । ब्यागमा ल्याएर त्यहाँ राख्दिएर गएछ भन्न त मिल्दैन होला नि ?’

सहकारी ठगी छानविनका लागि बनेको संसदीय विशेष समितिले सिफारिस गरेबमोजिम वर्तमान सरकारले दोषीहरुलाई कारबाही गर्ने उनले बताए । दोषीहरु कोही नछुट्ने उनको दाबी छ । नेता महतले विगतमा कांग्रेसकै सरकार हुँदा आफ्नै नेताहरु साना–साना अभियोगमा जेल गएको स्मरण गराउँदै उनले छानविन समितिको प्रतिवेदनमा कुनै सौदाबाजी नहुने बताए ।

‘हिजो कस्ता–कस्ता व्यक्तित्वहरु, कांग्रेसका पनि कानुनको दायरामा आएनन् ? जेलसम्म गएनन् ? यद्यपि उहाँहरुको ठगेको भन्ने पनि थिएन । अलिकति सम्पत्ति बढी देखियो । आम्दानीभन्दा सम्पत्ति बढी देखियो भनेर पनि परेको होईन ? यसमा सौदावाजी हुँदैन,’– उनले भने ।

साथै, उनले कांग्रेस उपसभापति धनराज गुरुङले नै आफूमाथि लागेको आरोपमाथि छानविन होस् भनेर माग गरिसकेको उनले बताए । धनराजलाई अनुसन्धान गर्न र दोषी ठहरिएको खण्डमा कारबाहीको लागि कांग्रेसले सहयोग गर्ने उनले बताए ।

‘उहाँ (धनराज) ले मेरो संलग्नता छैन, श्रीमतीसँग पहिले नै डिभोर्स भएको भनिरहनुभएको छ । तपाईँहरुलाई शंका लाग्छ भने छानविन गर्नुस्, दोषी प्रमाणित गर्नुस् भनिसकेको अवस्थामा अनुसन्धान गर्न कतैबाट बाधा अवरोध छैन । गल्ती गरेको छ भने चाहे नेता, कर्मचारी जोसुकै होस्, गल्ती गर्नेलाई सजाय हुनुपर्छ । कांग्रेसले कहिले पनि अवरोध गरेको छैन,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्