Logo

छानबिन समितिले कारबाही सिफारिस गरेपछि रवि: एकपछि अर्को आक्रमण र प्रहार खेपिरहेको छु, नदुख्ने त होइन साथी हो, दुख्छ मलाई पनि !



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई जित र हारको कुनै परवाह नरहेको बताएका छन् । आजबाट काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । उनले आफूमाथि पटक-पटक आक्रमण भएको भन्दै दुखेसो समेत पोखेका छन् ।

‘मलाई जित र हारको परवाह छैन । जितको उत्साह र हार्ने डरले लडिरहेको छैन । एकपछि अर्को आक्रमण र प्रहार खेपिरहेको छु । नदुख्ने त होइन साथी हो, दुख्छ मलाई पनि । निरन्तरको प्रहारले म लौलहान भएको छु । छाती छियाछिया भएको छ । गाडिएको छ तीर । देखिरहेको छु, बगिरहेको छ रगत । घाउ छ । त्यही घाउमाथि अन्य प्रहारहरू आउँछन्, मलाई थाहा छ । तर, ढल्ने छुट छैन । लड्ने छुट छैन’ उनले भने ।

उनलले कतिपयले रास्वपा सकियो भनेर प्रचार गरिरहेको पनि बताए। ‘रास्वपा सकियो भनेर गरिएको प्रचार हामीविरुद्ध गरिएको कुप्रचार हो। सदनमा हेर्नुस्, छोटो समयको सरकारमा रहँदाको काम हेनुस्,’ उनले भने, ‘दुई ठूला दल हाम्रै कारणले सरकार बनाउन मिल्नुपर्ने बाध्यतामा पुगे भने हामी कसरी सकियौँरु हामी त झन् फैलँदै छौँ।’

आफू बाहिरको प्रहार जति पनि खेप्न तयार रहेको बताए। ‘म बाहिरको प्रहार जतिपनि खेप्छु, खेप्छौँ। भित्रबाट प्रहार नगर्नुस्। हामी लड्यौं भने आफ्नै खुट्टामा अल्झिएर लड्छौँ,’ उनले भने।

पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले आफ्नो पार्टीको क्रेज सकिएको भनेर विपक्षीहरुले हल्ला फैलाएको आरोप लगाएका छन् । उनले रास्वपाको क्रेज घटेको हो कि भन्ने आफूलाई पनि लागेको तर त्यो आशंका सही नभएको जिकिर गरे । ‘रास्वपाको क्रेज सकियो, पहिलोजस्तो छैन भन्ने सुनिन्छ । हामीलाई पनि होकि हो कि जस्तो लागेको अवस्थामा छौं । यो यात्रा सुरू गर्दा नै यो सजिलो यात्रा थिएन । सजिलो थियो भने जसले पनि गर्थ्यो । यो मोडसम्म आइपुग्दा ओहो, खस्कियो ढल्यो, पहिलेजस्तो छैन भन्ने भाष्य सिर्जना गर्न खोजिएको छ’ ।

आफूहरु सिंहदरबारको सेटिङ बुझेर भत्काउन सरकारमा गएको बताए। उनले भने, ‘सरकारमा गएर हामीले सक्दो गर्यौँ पनि। सरकारमा रहँदा चार महिनामा समाएका भुरा माछा गनेर बस्दिन। समात्नुपर्ने ठूला माछा धेरै छन्। ढिलो–चाँडो तिनलाई रास्वपाले नै ठेगान लगाउने छ।’

उनले रास्वपाले बहुमत नल्याउन्जेल कांग्रेस र एमालेजस्ता ठूलो पार्टीको टाउको दुखिरहने बताए । उनले भने, ‘हाम्रो आगमन नै अरूका लागि टाउको दुखाइको विषय बन्यो । हामीले बहुमत नल्याउँदासम्म उहाँहरूको टाउको दुखिरहन्छ । रास्वपा सकियो भन्ने पनि छन् । तर, त्यो हामीविरुद्ध गरिएको कुप्रचार हो ।’



प्रतिक्रिया दिनुहोस्